संजीप घिमिरे, भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर– २ मा स्थानीयको मात्र नभई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो रहेको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव महेश बस्नेत उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा छ।
जेन–जी बिद्रोहपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृहनगर सूर्यविनायक–७ गुण्डुमा आश्रय दिएर राजनीतिमा पुनस्र्थापित गर्न सफल बस्नेतको उम्मेदवारीले भक्तपुर–२ मा सबैको चासो बढाएको विश्लेषक उमेश कायस्थ बताउँछन्। ‘पुरानो र नयाँको देशव्यापी अन्तरद्वन्द्वमा भक्तपुर–२ को निर्वाचनलाई सबैले अभिरुचिपूर्वक नियाली रहेका छन्,’ उनले भने। भक्तपुर–२ मा राजनीतिक दलका तर्फबाट १७ र स्वतन्त्र १५ गरी ३२ जना उम्मेदवार बनेका छन्। तर, मुख्य प्रतिस्पर्धामा आधादर्जन उम्मेदवार मात्र देखिएका छन्। जितका दावेदारहरूले पूर्वमन्त्री बस्नेतलाई नै आफ्नो मुख्य प्रतिस्पर्धी मानेका छन्।
एमाले र कांग्रेस दुवै ढुक्क
नेकपा (एमाले)ले आफ्नो उम्मेदवार महेश बस्नेतलाई हेभीवेट मानेको छ। पार्टीको केन्द्रीय सचिव र पूर्वउद्योग मन्त्रीसमेत भएको कारण ३२ उम्मेदवारमा बस्नेत हेभिवेट उम्मेदवार भएको एमाले जिल्ला अध्यक्ष बचन देउजा बताउँछन्।
बस्नेतले २०७४ को निर्वाचनमा करिब १८ हजार मतान्तरले नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरी प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए। २०७९ को निर्वाचनमा भने उनी कांग्रेसकै जिल्ला सभापति दुर्लभ थापासँग ९ सय ५७ मतको झिनो अन्तरले पराजित बने।
२०७९ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको कारण थोरै मतले हार बेहोर्नुपरेको तर, यसपटक सबै दलका उम्मेदवार रहेका कारण सबैले आआफ्नो मत सुरक्षित गर्दा बस्नेतले सजिलै जित हासिल गर्ने एमालेले विश्वास व्यक्त गरेको छ। ‘हाम्रो उम्मेदवारले विकासमा पछाडि पारिएको भक्तपुरमा विकासको लहर नै ल्याउनुभएको छ।’ जिल्ला अध्यक्ष देउजाले भने, ‘भक्तपुरको विकास निर्माणमा उहाँले गरेको नेतृत्व नै हाम्रो जितको आधार हो।’ भदौ २३ र २४ ले निम्त्याएको राजनीतिक शून्यतालाई चिर्ने साहस देखाउँदै एमालेलाई मात्र होइन, सबै राजनीतिक दललाई उठाउन महेश बस्नेतले गरेको योगदानलाई एमालेले अर्को जितको आधार मानेको छ।
भक्तपुर–२ मा आलोपालो एमाले र कांग्रेसले जित्दै आएको र यसपटक एमालेकै जित्ने पालो भएको एमालेका नेता कार्यकर्ताले जिकिर गरेका छन्। नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्ष पेलिएका कारण त्यसको असर भक्तपुर–२ मा पनि पर्ने र २०७४ को बिरासत ब्युँताउन सकिने एमालेले आशा गरेको छ।
यता, नेपाली कांग्रेस पनि आफ्नो उम्मेदवार कबिर राणाले जित्नेमा ढुक्क देखिन्छ। पत्रकारको रूपमा परिचित राणा नेपाली कांग्रेसका पुराना नेता एवं तत्कालीन जिल्ला विकास समिति भक्तपुरका पूर्वसदस्यसमेत हुन्। भक्तपुर–२ मा २०४८ यता सात पटकको संसदीय निर्वाचनमा ४ पटक कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। भक्तपुर–२ मा अघिल्लोपटक पनि जितको बिरासत बोकेको कांग्रेस प्रमुख शक्ति मानिन्छ। यसकारण राणा जितका बलिया दावेदार हुन्।
देउवा पक्षमा खम्बा मानिने नेपाली कांग्रेस भक्तपुरका सभापति एवं निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्लभ थापा आफूले नै कवीर राणालाई समर्थन गरेको कारण टिकट पाएकोले गुटगत लडाइँ नरहेको दाबी गर्छन्। जिल्ला सभापतिसमेत रहेका कारण आफूले जितेको ठाउँमा आफ्नो उम्मेदवार जिताउन कुनै कसर बाँकी नराख्ने उनले बताए। भक्तपुर–२ मा कांग्रेसका पछि थपिएका सहित १२ हजार २ सय ४२ जना क्रियाशील सदस्य सबै एकजुट भई घरदैलो गरिरहेका उनले जनाएका छन्।
नेपाली कांग्रेस प्रमुख लोकतान्त्रिक पार्टी भएको र आफ्नो उम्मेदवार राणा लोकतान्त्रिक आन्दोलनको सच्चा सिपाही भएको भन्दै पार्टी सभापति थापाले यसलाई जितको आधार मानेका छन्। ‘राजनीतिक र सामाजिक रूपमा उहाँले कसैलाई चिढाउनु भएको छैन, उहाँ र देशको चिन्ता गर्ने व्यक्तित्व भएकोले मतदाताले मन पराउनुभएको छ,’ सभापति थापाले भने।
२०४८ सालमा निर्वाचित भएका कांग्रेस नेता जगन्नाथ आचार्यले भक्तपुरको विकास निर्माणको जग बसालेका र आफ्नो कार्यकालसम्म आइपुग्दा कांग्रेसले गरेको बिकासनिर्माण जनताले देखिरहेका उनले दाबी गरे। ‘कसैले विकासको ठेकेदार हुँ भन्दैमा जनताले पत्याउँदैनन्।’ उनले भने, ‘जनताको वास्तविक सेवक र विकासको वास्तविक नेतृत्वकर्ता नेपाली कांग्रेस हो।’ कांग्रेसले विकास निर्माणको काम गरेन भन्नेलाई आफ्नो कार्यकालमा बनेका बाटो मिटर लिएर नाप्न निस्कन पनि उनले चुनौती दिएका छन्।
एमाले उम्मेदवार महेश बस्नेतले एक्लाएक्लै भिड्दा कांग्रेसलाई सजिलै हराउन सक्ने विश्लेषणलाई कांग्रेस सभापति थापा स्वीकार गर्दैनन्। ‘महेश बस्नेतले २०७४ मा कांग्रेसका दमननाथ ढुंगानालाई हराएको कुरा गरिरहँदा २०७० मा उहाँ कांग्रेसका रामेश्वर ढुंगेलसँग हारेको पनि भुल्नु हुँदैन,’ उनले भने।
सभापति थापाले पुरानो र नयाँको कुरा गरेर नहुने भन्दै पुरानाले के नराम्रो गरे र नयाँले राम्रो गर्ने आधार के हो भन्ने जनताले प्रश्न गरिरहेका उल्लेख गरे। नयाँ भनिएका दल, तीनका नेता र उम्मेदवारहरूसँग अरुलाई गाली गर्नसक्ने बाहेक कुनै योग्यता र क्षमता नभएको उनको आरोप छ।’
नयाँकै कुरा गर्ने हो भने हाम्रो उम्मेदवार कवीर राणा नै नयाँ हो। सभापति दुर्लभ थापाले दाबी गरे। वर्षौंदेखि लोकतन्त्रप्रति बफादार रहेका र जेलनेल खाएका राणाले पहिलोपटक उम्मेदवारी दिएकाले उनलाई मतदाताले अत्यधिक मतले विजयी बनाउने कांग्रेसका नेता कार्यकर्ताले विश्वास व्यक्त गरेका छन्। भक्तपुर–२ मा एमाले उम्मेदवार बस्नेतको पार्टीमा बढ्दो दबदबा रोक्न एमालेभित्रकै असन्तुष्ट पक्षले निर्वाचनमा असहयोग गर्नसक्ने पनि कांग्रेसले विश्लेषण गरेको छ।
रास्वपा आशावादी
भक्तपुर–२ मा राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहेका छन्। उनी पत्रकार हुन र पुरानाले देश नबनाएका कारण आफू राजनीतिमा आउनुपरेको बताउँछन्। २०७९ को संसदीय निर्वाचनमा जमानत जफत भएको भए पनि जेनजी बिद्रोहपछि रास्वपाका नेकाकार्यकर्ता उत्साहित छन्। जेन–जी बिद्रोह र सूचनाको पहुँचले मतदाताको माइन्डसेट भत्काएकाले परम्परागत पुराना दल तथा तिनका नेताको दिन सकिएको रास्वपाको ठहर छ।
२०७९ मा रास्वपाको उम्मेदवारसमेत रहेका नेता साजन विक त्यतिबेला पार्टीले स्थानीय संरचना बेगरै ४ हजार बढी मत ल्याउनुलाई सकारात्मक मान्छन्। ‘अहिले त हामीसंग प्रत्येक नगर र वडामा पार्टी कमिटी छ, २ हजार बढी संगठित सदस्य हुनुहुन्छ।’ उनले भने, ‘पार्टी शक्ति अहिले परिचालन भएको छ, हामी जित्छौं।’
रास्वपा बैकल्पिक शक्ति भएको भन्दै उनले उन्नत गणतन्त्र र सहभागितामूलक समाजवादका लागि मतदाताले रास्वपालाई मतदान गर्ने आशा व्यक्त गरेका छन्। जेनजीको माग पूरा गर्ने पार्टी भनेको रास्वपा मात्र भएको उनको भनाइ छ।
जीतको दाउँमा नेकपा र नेमकिपा सुटुक्क
भक्तपुर–२ मा नेपाली कम्युनिस्ट पार्टी र नेपाल मजदुर किसान पार्टीलाई कम आक्न मिल्दैन। नेपाली कम्युनिस्ट पार्टीको एक घटक तत्कालीन नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा २०६४ र २०७० मा गरी दुई निर्वाचनमा सहभागी हुँदा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेको थियो। त्यसयताका दुई निर्वाचनमा भने यो निर्णायक शक्तिको रूपमा रह्यो।
२०७४ मा बाम गठबन्धन गरी नेकपा एमालेको उम्मेदवार महेश बस्नेतलाई जिताएको तत्कालीन माओवादी केन्द्रले २०७९ मा भने बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको उम्मेदवार दुर्लभ थापालाई जिताएको थियो। यसपटक नेकपामा माओवादी केन्द्रसँगै एकीकृत समाजवादीलगायत धेरै दल एकीकरण भएकाले थप शक्तिसञ्चय भएको छ।
यसपटक आफ्नै उम्मेदवार उठाएको नेपाली कम्युनिस्ट पार्टीले दुई अतिवादबिरुद्ध मतदाताले मतदान गर्ने विश्वास लिएको छ। नेकपाका नेता दिलिप प्रजापति देश जलाउनेहरू र जल्ने बनाउने दलहरूलाई जनताले मतदान नगर्ने बताउँछन्। भदौ २३ र २४ निम्त्याउने दुई अतिवादबिरुद्ध मतदाताले यसपटक हामीलाई मतदान गर्नुहुन्छ, उनले भने। क्षेत्र नम्बर २ मा ४ हजार ५ सय संगठित सदस्य रहेको नेकपाले प्रत्येक संगठित सदस्यलाई ४ घरको मत सुनिश्चित गर्ने जिम्मा लगाएर सुटुक्क जित्ने तयारी गरिरहेको छ। चुपचाप जीतको तयारीमा लागेको नेकपाका कार्यकर्ता केन्द्रीय तहका युवा नेता रामप्रसाद सापकोटा दीपशिखालाई उम्मेदवार पाएर उत्साहित छन्।
दीपशिखा पार्टी संयोजक प्रचण्डका विश्वासपात्र एवं राष्ट्रिय राजनीतिमा पहुँचवाला नेता हुन्। उनले भक्तपुर- २ मा ठुला आश्वासन नदिएको तर बोलेका सबै बाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।” पानी जहाजको होइन धारामा पानी ल्याउने र मेट्रो रेलका कुरा अघि समयमै स्कूल, अस्पताल र कार्यालय लानेल्याउने सार्वजनिक यातायातको सुनिश्चितता गर्नेछु ।” उनले भने । उनले मध्यपुर र सूर्यविनायाकलई पर्यटकीय गन्तब्य बनाउने देखि पर्यटन, कृषी र परम्परागत पेशाको आधुनिकीकरण गरी रोजगारी र आयआर्जन वृद्धि गर्ने योजना अघि सारेका छन् ।
नेकपाले उम्मेदवारको राजनीतिक एवं सामाजिक छवि तथा आफ्नो सरकार हुँदा गरेका सुशासनको पक्ष र भ्रष्टाचार बिरुद्ध गरेका काम, बिकास निर्माणका कार्य एवं मध्यपुर थिमि नगरमा उपप्रमुखले गरेका जनपक्षीय कामलाई घरघर पुर्याउदै जीतको छापामार शैलीमा तयारी गरिरहेको देखिन्छ। ”हामी सबैलाई सप्र्राइज गर्दैछौं।” नेता श्याम बस्नेतले बताएका छन्।
यता, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि भक्तपुर–२ गुम्दाको पिडामा जीतको मलहम लगाउन तम्सिएको छ। २०५१ मा नेमकिपाका आशाकाजी बसुकला र २०६४ मा सुनिल प्रजापतिले जीत हासिल गरेको यो क्षेत्रमा पछिल्लो समय नेमकिपालाई प्रतिस्पर्धाको सूचीमै नराख्दाको आक्रोशलाई नेताकार्यकर्ताले जीतमा बदल्नेगरी रणनीति बनाइरहेका छन्। अघिल्लो निर्वाचनमा नेमकिपाकी अनुराधा थापामगरले ७ हजार १ सय २७ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेकी थिइन्। मत बढाउँन सके यो क्षेत्रमा नेमकिपा जित्ने नसक्ने गरी कमजोर छैन।
२०६४ मा जित हासिल गरेका नेमकिपाका नेता सुनील प्रजापति यसपटक पुरानो बिरासत फर्काउने गरी लागेको बताउँछन्। शासक दलहरूको कुशासन र भ्रष्टाचारलेदेशलाई बर्बादीतर्फ लागिरहेको बताउँदै प्रजापतिले देश र जनताको निस्वार्थ सेवा गर्ने नेमकिपाकालाई भक्तपुर–२ ले निर्वाचित गर्ने विश्वास व्यक्त गरे।
संगठित र जनवर्गीय संगठनमा आवद्ध गरी नेमकिपाका ३ हजार बढी प्रतिवद्ध कार्यकर्ता रहेका छन्। नेमकिपा कार्यकर्ता र परिवारको भोट कहिल्यै दायाँबायाँ हुँदैन। त्यतिमात्र होइन, नेमकिपाका कार्यकर्ता पार्टीलाई उल्टै चन्दा दिएर चुनावी अभियानमा निस्वार्थ खटिएका देखिन्छन। नेमकिपाले घरघरमा पुगी आम मतदाताको मत तान्न सके नेमकिपाले भक्तपुर–२ मा झड्का दिनसक्छ।
नेमकिपाले पार्टीको पूरै शक्ति सुटुक्क भक्तपुर–२ मा परिचालित गरिरहेको छ। नेमकिपाका नेताहरू अन्य दल र उम्मेदवारको भण्डाफोर गर्दै आफ्ना एजेन्डा सुनाइरहेका छन्। भक्तपुर–१ को एक्लो प्रतिनिधिले मात्र प्रतिनिधिसभामा जनताको समस्या राखिरहेको भन्दै उनीहरू क्रान्तिकारी संसदवादका लागि आफ्ना उम्मेदवार निर्वाचित गर्न काउन्सिलिंग गरिरहेका छन्।
भक्तपुर–२ का आफ्ना उम्मेदवार रमेश वैद्य युवा एवं कृषि विज्ञ भएको र मध्यपुर थिमिका एक रैथाने नेवास् उम्मेदवार भएकोले नेमकिपा उत्साहित छ। दुई वर्ष अघिदेखि नै निर्वाचनको तयारी गरिरहेको नेमकिपा भक्तपुर–२ मा डटेर लागेको देख्न सकिन्छ।
मत जोगाउँदै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी भने भक्तपुर–२ मा अस्तित्वकै लडाइमा छ। अधिवक्ता विक्रम थापा उम्मेदवार रहेका छन्। अघिल्लो निर्वाचनमा मोहन केसीले २ हजार ५ सय मत प्राप्त गरेका थिए। त्यसलाई कायम राख्दै मत बढाउनु नै राप्रपालाई चुनौती रहेको छ। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रहेका किरण थापा र सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा राप्रपा पृष्ठभूमिबाटै एमाले भएका नेता हुन्।
त्यस्तै अर्का राप्रपा नेता केसी राप्रपा परित्याग गरी यसपटक नेपाली कांग्रेस भक्तपुरका निर्वाचन प्रचारप्रसार प्रमुख नै बनेका छन्।
उनीहरू लगायतका नेताहरूका कारण राप्रपालाई आफ्नो मतको रक्षा गर्दै मतभार बढाउन चुनौती थपिएको छ।
शक्ति परीक्षणमा नयाँ पार्टीहरु
नयाँ राजनीतिक दलहरु पनि भक्तपुर-२ मा आकर्षित देखिएका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार जितराम लामा आफू जित्ने दावी गर्छन । कुलमानले काम गरेरै देखाएको दावी गर्दै नेता छन्द विज्ञान निरौलाले उज्यालो नेपाल पार्टी र
यसका उम्मेदवारले कुरामा होइन, काममा बिश्वास गर्ने बताएका छन् । ”परिणाम खोज्ने सचेत मतदाता हामीप्रति आकर्षित हुनुहुन्छ ।” उनले दावी गरे । त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अर्जुन बासुको उम्मेदवारी परेको छ । सो पार्टीले पनि देशले नयाँ परिवर्तन खोजिरहेको परिवेशमा बासु निर्वाचित हुने बिश्वास लिएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट श्रमजीवी आन्दोलनका अगुवा पत्रकार जन्मदेव जैशीको उम्मेद्वारी छ भने नेपाल जनसेवा पार्टीबाट जानुका पाठक(शोभा पाठक) उम्मेदवार रहेकी छन् । जैशी एक्लै प्रचारप्रसारमा लागि फरक शैली अपनाएका छन् भने पाठक सामाजिक संजालमा बढी सक्रिय छिन ।
त्यस्तै, यहाँ मंगोल नेसनल अर्गनाइजेसनबाट पेम्बा घले, नेपाली पार्टीका तर्फबाट राजेश बाडे र त्रिमूल नेपालका तर्फबाट राकेश श्रेष्ठ उम्मेदवार छन् । जनता समाजवादी पार्टीबाट नवीन श्रेष्ठ, आम जनता पार्टीबाट देवकी कुमारी साह र नेकपा (माओवादी)का तर्फबाट प्रकाशराज ढुंगेल पनि आआफ्नै शैली मा घरदैलो गरिरहेका छन् ।
नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहालले भने एमाले उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरिसकेका छन् । दलका उम्मेदवार बाहेक १५ जनाले यहाँ स्वतन्त्र उम्मेद्वारी दिएका भएपनि प्राय: उम्मेदवार निस्क्रिय देखिन्छन । घरदैलोमा आफ्नो लागि मत
माग्न एक-दुईबाहेक स्वतन्त्र उम्मेदवार पुगेनन् ।






