
काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे ।
उनले हालैको आन्दोलनलाई राज्यले विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक गम्भीर संकटमा पुगेको बताए । २३ भदौको आन्दोलनलाई सरकारले नरसंहारमा परिणत गरेको उनको बुझाइ छ । २४ भदौमा सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनमा भएको तोडफोड र आगजनीलाई जेन–जीको आन्दोलन नभई अपराधी तत्वको षड्यन्त्र भनेका उनले भनेका छन्।
प्रचण्डले ७० भन्दा बढी युवाको ज्यान जाने घटनाप्रति गहिरो शोक प्रकट गर्दै पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सर्वसाधारण र आफ्ना कार्यकर्तालाई आव्हान गरे।
साथै, घटनाको स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
उनले जनयुद्धदेखि हालसम्मका बलिदान र संघर्षलाई स्मरण गर्दै भने, “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। जेन–जी आन्दोलन यथास्थितिवादको विरोध हो, लोकतन्त्रविरोधी होइन।”
संविधान दिवसको अवसरमा प्रचण्डले आफ्ना कमजोरी पनि स्वीकार गरे—शहिद परिवार, घाइते, अपांग, अपहृत र यातनापीडितका अपेक्षाप्रति आफूहरूले पूर्ण न्याय गर्न नसकेको बताए। तर भ्रष्टाचारविरुद्ध लडेको, राष्ट्रघाती सम्झौतामा नपरेको स्पष्ट पार्दै कार्यशैली अझै सुधार गर्दै जाने प्रतिवद्धता प्रकट गरे।
अन्त्यमा उनले देशभक्त, लोकतन्त्रवादी र गणतन्त्रवादी सबै शक्तिहरूलाई एकताबद्ध भएर संविधान र लोकतन्त्रको रक्षा गर्न आह्वान गर्दै भने, “राष्ट्रको स्वतन्त्रता र जनताको उपलब्धि जोगाउनु आजको साझा कर्तव्य हो।”






