काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूविरुद्ध केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रायोजित, असत्य र चरित्रहत्या गर्ने सामग्रीहरूप्रति फैलाइएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ।
संयोजक प्रचण्डको सचिवालयका तर्फबाट उनका प्रमुख स्वकीय सचिव एवं केन्द्रीय सदस्य गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन प्रचारप्रसार गरिएको र त्यो अत्यन्त खेदजनक र आपत्तिजनक रहेको जनाएका छन् ।
विज्ञप्तिमा सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशित वा प्रसारित गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु न्यूनतम पत्रकार आचारसंहिता हो भन्ने कुरा स्मरण गराइएको छ।
प्रचण्डको सचिवालयले “जेन जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको”, “सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको” तथा “गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको” भन्ने दाबीहरूलाई पूर्ण रूपमा निराधार बताउँदै ती आरोपहरूको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ।
साथै, यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै सम्बन्धित निकायसँग कानुनी कारबाहीका लागि अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ।”
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक र दुरासयपूर्ण प्रचारको भ्रममा नपर्न हार्दिक अपिल पनि गरेको छ।
जेनजी-ले प्रदर्शनको दोस्रो दिन २४ भदौमा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयका साथै अध्यक्ष ‘प्रचण्ड’ र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल)को घरमा आगजनी भएको थियो भने करिब एक दर्जन नेताहरुको घर पनि निसानामा परेको थियो ।
आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले युट्युबमा अन्तर्वार्ता दिँदै ‘प्रचण्ड’ निवासबाट दुई वटा ट्रकमा लोड गरेर दुई करोड नगद अन्यत्र लगिएको दाबी गरेपछि सचिवालयले खण्डन गरेको हो ।
त्यसो त, दुई करोड नगद ओसार्न दुई वटा ट्रक नचाहिने भन्दै सुवेदी ट्रोलमा परिसकेका थिए । तर, प्रहरीकै जिम्मेवार पदमा रहीसकेका ब्यक्तिले सार्वजनिक आरोप लगाएपछि खण्डन गर्नुपरेको माओवादी केन्द्रको प्रचार विभागका सचिव बलराम थापाले बताए ।





