
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा फुट्न माफिर कम्युनिस्ट पार्टीहरु एकसाथ जुटेर रेकर्ड राखेका छन् । विभिन्न पार्टीमा बिभाजित दश वामपन्थी शक्तिहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी निर्माण गरेका हुन् ।
देशभरका वाम समर्थकहरूलाई उत्साहित बनाउदै बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलन उद्घाटन समेत सम्पन्न गरिएको छ । नयाँ पार्टीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह संयोजक चुनिएका छन् । तेस्रो वरियतामा पार्टीका भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल परेका छन् । तीनजना पूर्वप्रधानमन्त्रीसहितको नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा लैजाने अपेक्षा गरिएको छ ।
प्रमुख दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संगै नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जन समाजवादी पार्टी (नेपाल),नेकपा (माओवादी समाजवादी),नेकपा (सम्यवादी), देशभक्त समाजवादी मोर्चा (गोपाल किराँती नेतृत्व) र अन्य साना वामपन्थी संगठनहरू समेत समावेश भएका छन्।
एकता सम्मेलनको उद्घाटन सत्रलाई काठमाडौको भृकुटीमण्डपमा सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले अन्य बामपन्थी दलहरूसंग पनि एकता गर्दै जाने प्रष्ट पारे । उनले नेकपा(एमाले)लाई पनि एकतामा आउन आग्रह गरेका छन् ।
संयोजक प्रचण्डले जेनजी आन्दोलनको भाव पक्रेर अघि बढ्ने र जेनजी युवालाई पार्टी संरचनामा मात्र नभई राज्यको हरेक संरचनामा समेट्नेगरि अघि बढ्ने बताए ।
“हामीले विगतका गल्तीहरूबाट सिक्दै वाम एकता र समाजवादको बाटोलाई व्यवहारिक रूप दिने संकल्प गरेका छौँ।” उनले भने ।
सह–संयोजक माधव नेपालले भने पार्टी एकतालाई राजनीतिक एकता मात्र नभई जनताको विश्वास पुनःप्राप्त गर्ने र जनताको सेवा गर्ने ऐतिहासिक अवसररुपमा व्याख्या गरेका छन् ।
पार्टी तलसम्म गएर जनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा अघि बढ्ने उनले बिश्वास दिलाए ।
नेपाली कम्युनिस्ट पार्टीले मार्क्सवाद र लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त र नेपाली मौलिकताको समाजवादलाई कार्यक्रमको रुपमा अघि सारेको छ ।
वाम शक्तिहरूबीच विचारगत र संगठनात्मक विभाजनका कारण जनतामा निराशा छाएको थियो। तर, अहिलेको एकताले वाम आन्दोलनलाई फेरि सशक्त बनाउने अपेक्षा गरिएको वरिष्ठ पत्रकार बलराम थापाले बताए ।
एकता सभामा उपस्थित बामपन्थी नेता एवं समर्थकहरुले एकतालाई ‘अपरिहार्य’ भन्दै सकारात्मक अर्थममा स्वीकार गरेका छन् । उनीहरूले टुटफुटले पछि परेको बामपन्थी आन्दोलन अघि बढ्न र आगामी निर्वाचनमा बामपन्थी मतको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी सक्षम रहने बिश्वास ब्यक्त गरे ।
‘नेपाली कम्युनिस्ट पार्टी’को गठनसँगै नेपालमा फेरि वामपन्थी राजनीति नेपाली कम्युनिस्ट पार्टीमा केन्द्रित भएको छ। अबको चुनौती भनेको एकतालाई जोगाउँदै व्यवहारिक रूपान्तरणसहित जनविश्वास पुनःआर्जन गर्नु र जनताको समाजवाद स्थापना गर्नु भएको एकता सम्मेलन आयोजक समितिका सदस्य डीपी ढकालले प्रतिक्रिया दिएका छन् ।
हेर्नुस् बलियो बामपन्थी शक्तिको रुपमा एकताबद्ध भएको नेपाली कम्युनिस्ट पार्टीले आज पारित गरेको २३ बुँदे प्रतिवद्धता ।






