सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् ।
अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गहिरो चोट लागेको छ ।
आक्रमणको घटनाले शिक्षा क्षेत्र स्तब्ध बनेको बुद्धिजीवीहरु बताउँछन् । नेपाल शिक्षक महासंघ इन्द्रावती नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको छ र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानाध्यापकलाई कार्यकक्षमै अभद्र गाली, दुर्व्यवहार र शारीरिक आक्रमण गर्नु जस्तो घृणित काम अक्षम्य छ। स्थानीय प्रशासनले तुरुन्तै अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम सजाय दिनुपर्छ।”
महासंघका अनुसार आक्रमणबाट भण्डारीको आँखामा गम्भीर चोट लागेको छ र हाल उनको उपचार भइरहेको छ।
महासंघले यो घटनालाई शिक्षक सुरक्षामाथिको गम्भीर चुनौती र शिक्षा क्षेत्रमा फैलिँदै गएको दुराचारको संकेतका रूपमा लिएको छ। साथै, शिक्षकमाथि हुने दुर्व्यवहार अन्त्य गर्न र शिक्षकको सम्मान तथा सुरक्षालाई प्राथमिकतामा राख्न राज्य संयन्त्र र स्थानीय सरकारसमक्ष जोडदार माग गरेको छ।

स्थानीय प्रशासनले घटनाबारे जानकारी लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।







