सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो ।
उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् । उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरेश नेपालले २७ हजार १८ मत पाएका थिए ।
चौतारा सागाचोक निवासी नेता सापकोटाले संंसदमा खरो, स्पष्ट र तार्किक बहस गर्न तथा जनताको पक्षमा खबरदारी गर्न सफल सांसदको छवि बनाएका थिए । ४५ वर्षिय नेता सापकोटाले राजनीतिमा स्नातकोत्तर गरेका छन् । उनी १३ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय ब्यक्तित्व हुन् ।







