
भक्तपुर । इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुगेको छ । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरी स्थापना दिवस मनाएको छ।
१८ औं स्थापना दिवसका अवसरमा सहकारीले रक्तदान कार्यक्रम र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको संस्थाकी व्यवस्थापक अञ्जली देसेमरुले जानकारी दिइन्।

बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले बिहीबार बिहान रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा ३० जनाले रक्तदान गरेका सहकारीका उपाध्यक्ष सुनिल गोठेले जानकारी गराए। उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको उनले बताएका छन् ।

यसै अवसरमा सहकारीले आफ्ना १६ जना महिला सदस्यलाई लक्षित गरी झोल साबुन बनाउने सीपमूलक तालिम समेत सम्पन्न गरेको सदस्य सीता सुलुले बताइन्। तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको बताइएको छ।

संविधान सभा सदस्य सत्यलाल मूलको प्रमुख उपस्थितिमा सम्पन्न दुबै कार्यक्रममा सहकारीका सदस्य समेत रहेका संविधान सभा सदस्य उमा कपाली, बागमती प्रदेश सरकारकी पूर्वमन्त्री सरस्वती बाटी, जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठ, राष्ट्रिय समाचार समितिकी भक्तपुर प्रतिनिधि लक्ष्मी गारु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
सहकारीका अध्यक्ष कृष्णराम पोतामहका अनुसार स्थापना दिवसको अवसर पारेर दुबै कार्यक्रम सम्पन्न गरिएको हो भने पूरै हप्ता विविध सामाजिक र सचेतनामूलक कार्यक्रमसहित स्थापना दिवस मनाइने छ।
उनका अनुसार यसै हप्ता मुटु रोगबाट बच्न अभिमुखीकरण त्यसैगरी साइबर सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरिनेछ।

भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्थामा एक हजार शेयर सदस्य रहेका छन् ।
सहकारीको मर्म अनुरुप सञ्चालित यो सहकारी भक्तपुरको उत्कृष्ट सहकारीको रुपमा समुदायको बिश्वास प्राप्त गर्न सफल सहकारी हो ।







