पुरानै घर फर्कन कुलमानलाई सहयात्रीको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग कुरा नमिलेपछि कुलमान घिसिङ अलग्गिएको चर्चा चुलिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले उनलाई पुरानै पार्टीमा फर्कन सार्वजनिक अपिल गरेका छन् ।

सहयात्रीले सामाजिक सञ्जालमार्फत भावनात्मक र राजनीतिक सन्देश दिँदै कुलमानलाई आफ्नै घर फर्कन आग्रह गरेका हुन् ।

कुलमानलाई सुझाव दिदै सहयात्रीले भने, “आत्मकेन्द्रीत अहंकार त्यागेर प्रतिबद्धतामा उभिनुभयो भने प्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।”

नेता सहयात्रीले नेपाली कम्युनिष्ट पार्टीलाई संघीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको ‘पिता’ को संज्ञा दिएका छन् ।

“आफ्ना पिता अलिक बुढा भए भन्दैमा मितबालाई असली पिता ठान्नु हुँदैन,” उनले भने, “घरको रंग पुरानो भयो भनेर छिमेकीकहाँ शरण लिन दौडिनु पनि ठीक होइन।”

सहयात्रीले समय अझै दुई दिन बाँकी नै भएको भन्दै कुलमानको उज्यालो नेपाल पार्टीको चुनाव चिह्नप्रति कटाक्ष पनि गरे ।

“बत्तीको चिमले आफैं उज्यालो दिँदैन, विद्युत उत्पादन गर्ने पावरहाउस भनेको नेपाली कम्युनिष्ट पार्टी हो, विचार गर्नुस्।” उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कुलमानलाई दुई तह मुनिबाट तानेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो ।

कार्यकारी निर्देशकका रूपमा कुलमानले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दै ‘उज्यालो नेपाल’ अभियानमार्फत जनताको व्यापक प्रशंसा पाएका थिए ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्यको सफलतालाई राजनीतिक आधार बनाउँदै ‘उज्यालो नेपाल पार्टी’ मा लागेका छन् ।

सो पार्टीमार्फत सक्रिय राजनीतिमा होमिने घोषणा गर्दै उनले वर्तमान अन्तरिम सरकारको मन्त्री पदसमेत त्याग गर्ने गरेर आफ्नो राजनीतिक प्रतिबद्धता प्रकट गरिसकेका छन् ।

पछिल्लो समय रास्वपामा एकीकृत हुने सहमति भएपनि कुरा नमिल्दा उनी आफ्नै पार्टीलाई अघि बढाउने सोचमा देखिन्छन् ।

यही राजनीतिक उतारचढावबीच सरल सहयात्रीको अपिललाई कुलमानको आगामी राजनीतिक यात्रासँग जोडेर अर्थपूर्ण रूपमा हेर्न सकिन्छ ।