
भक्तपुर । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश संयोजक सरल सहयात्री बताएका छन् ।
शनिबार भक्तपुर जिल्ला कार्य संयोजन समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
संयोजक सहयात्रीले सरकार सुकुम्बासी र सर्वहारा वर्गको जानी दुश्मन जस्तो देखिएको जिकिर गरे । कांग्रेस र एमाले बिभाजित भएर चुनावमा जाँदा रास्वपाले अस्वभाविक नतिजा निकालेको दावी गर्दै उनले सत्ताले मैमत्ता नबन्न चेतावनीसमेत दिए ।
“रास्वपाको जस्तो दुई तिहाई केपी ओली नेतृत्वको सरकारसंग पनि थियो ।” उनले भने, “ओली भन्दा बढी दम्भ बोकेर बसेको बालेन्द्र सरकार पनि त्यसैगरी ढल्छ ।”
उनले कम्युनिस्ट सिद्धान्त अनुसार नेता कार्यकर्ताको ब्यवहार नभएको कारण जनता निरास भएका औल्याउँदै कम्युनिस्ट पार्टीले बिचार र सिद्धान्त अनुसार व्यवहार गर्नपर्ने आवश्यकता औल्याए । ” जनताले कम्युनिस्टलाई मन नपराएका होइनन्, कार्यशैली सच्याउन दण्ड मात्र दिएका हुन् ।” उनले भने, “अब भक्तपुरले कम्युनिस्ट रोल मोडेल स्थापित गरि जनतासङ्ग जोडिनु नै आजको आवश्यकता हो ।”
नेकपाका भक्तपुर जिल्ला इन्चार्ज डिपी ढकालले डोजर आतंकदेखि बजेटसम्म आइपुग्दा सरकार बदनाम भइसकेको र प्रधानमन्त्रीको पछिल्लो सीमासम्बन्धि धारणाले देश जोगाउन कम्युनिस्टहरु नै आवश्यक हुने जनताले बुझिसकेका जिकिर गरे । ” हामीले काम गर्यौ, जनताले गफ दिनेलाई निर्वाचित गरे ।” इन्चार्ज ढकालले भने, “जनता अहिले पछुतो मानिरहेका छन्, हामीले अब घरघर पुगेर समाजको बैचारिक र राजनीतिक चेतना बलियो बनाउनुपर्छ ।
इन्चार्ज ढकालले पार्टीमा सिनियर–जुनियरको संकीर्णता अन्त्य गर्दै योग्यता र इमान्दारीताका आधारमा जिम्मेवारी बाँडफाँट र संगठन निर्माण गर्न निर्देशन दिए । पार्टी समितिहरुमा पचास प्रतिसत नव युवाले भूमिका पाउनुपर्ने भन्दै उनले नवयुवालाई पार्टीप्रति आकर्षित गर्नपर्नेमा पनि जोड दिएका छन् ।
अर्का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले निर्वाचनमा रास्वपासंग नभई अमेरिकी साम्राज्यवाद बिरुद्ध लडिएको जिकिर गर्दै निरास नबन्न कार्यकर्तालाई आग्रह गरे । त्यस्तै भक्तपुर-२ मा उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले चुनावी हारबाट पाठ सिक्दै अर्कोपटक जीतमा बदल्नेगरी योजना तथा कार्यक्रम अघि बढाइने बताए ।
सो अवसरमा बागमती प्रदेशका पूर्व मन्त्री डा राजेन्द्रमान श्रेष्ठ लगायत केन्द्रीय सदस्यहरुले राजनीतिक दिशानिर्देश गरेका तथा केन्द्र र प्रदेश नेतृत्वमा रहेका नेताहरुका साथै जिल्ला कार्य संयोजन समितिका सदस्यहरु सहभागी रहेका जिल्ला संयोजक श्यामसुन्दर बस्नेतले बताएका छन् ।पहिलो बैठकबाट जिल्लामा विभिन्न बिभागमा नेतृत्व चयन गरिएको उनले जानकारी गराए ।







