
काठमाडौं । तत्कालीन जनमुक्ति सेनाका एक कमाण्डर समेत रहेका नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले माओवादी आन्दोलनको तीन दशक लामो यात्राबारे समग्र समीक्षा र वैचारिक संश्लेषणको आवश्यकता औँल्याएका छन्।
उनले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, पार्टी एकता र विभाजनसम्मको समग्र राजनीतिक घटनाक्रममा सहभागी भएका सबै नेताहरूको भूमिकालाई आलोचनात्मक दृष्टिले मूल्यांकन गर्नुपर्ने बताएका हुन्।
चिया पसलदेखि सार्वजनिक जमघटमा धेरै कुरा उठ्ने गरेकाले मञ्चबाट उठ्ने विषयहरू मात्रै नीतिगत बहसको विषय बन्ने भन्ने नहुने उनको तर्क छ । पार्टी जनतातर्फ फर्किएकाले जनताले उठाएका हरेक विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिएका छन् ।
“विश्व राजनीति र अर्थतन्त्रले नेपालमा पारेको प्रभाव, मुलुकको राजनीतिक संरचनामा देखिएको कमजोरी, त्यसबाट उत्पन्न निराशा, बेरोजगारी र युवाको मोहभंगजस्ता विषयमा गहिरो बहस आवश्यक छ ।” अध्यक्ष पौडेलले प्रष्ट पारे ।
उनले भनेका छन्, “यसले कसको सम्पत्ति छानबिन गर्ने, सरकारमा रहँदा कुन प्रधानमन्त्री वा मन्त्रीले कस्तो काम गरे, भ्रष्टाचार गरे वा जनमुखी काम गरे भन्ने जस्ता प्रश्नको पनि उत्तर दिन सक्छ।”
पार्टीभित्र संगठनात्मक संरचना, जनवादी केन्द्रीयता, कार्यशैली र संस्कृतिमा रूपान्तरणसहित नेता–कार्यकर्ता विकासका सवालमा सैद्धान्तिक स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार संघर्षको मूल अन्तरविरोध, वर्गसंघर्ष र अन्तरसंघर्षको स्वरूपबारे पनि स्पष्ट बहस हुनुपर्छ।
पौडेलले युद्ध लडेका, गोली बोकेका र परिवार गुमाएका कार्यकर्ताको पीडा र कुण्ठा नेताहरूको भन्दा गहिरो रहेको उल्लेख गर्दै भने, “यो यथार्थ बुझेर मार्गदर्शन गर्न सक्नेलाई मात्र नेता वा, नेतृत्व मान्न सकिन्छ ।”


