गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो ।

आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य, जनमुक्ति सेनाको पूर्व ब्रिगेड कमिसार, संबिधानसभा सदस्य तथा पूर्व भौतिक योजना राज्य मन्त्री पदम बहादुर राईको निधनका कारण गणतन्त्र सेनानीहरु शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको उनले जनाएका छन् ।

आज आइतबार अपराह्न १२ बजेबाट राष्ट्रिय नाचघर जमलमा हुने भनिएको गणतन्त्र सेनानी सम्मान कार्यक्रममा शहिद/ बेपत्ता परिवार, घाइते तथा अपाङ्ग र तत्कालीन जनमुक्ति सेनाका ४ डेपुटी कमाण्डर सहित १५ जनालाई सम्मान गरिने कार्यक्रम तय भएको थियो ।

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता रहने प्रचार गरिएको सो कार्यक्रममा तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर जानुका धमला सन्ध्याको सस्मरण संग्रह बारुदभित्र जीवन सार्वजनिक समेत गर्ने तयारी रहेको थियो ।