भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवनको शिलान्यास समारोह सम्पन्न भएको छ। सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
दक्षिण कोरियाको सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो भवनका लागि करिब ९.५ मिलियन अमेरिकी डलर (करिब १ अर्ब २८ करोड रुपैयाँ) सहयोग प्राप्त भएको छ। कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोईका) ले यस प्रोजेक्टका लागि आर्थिक सहयोग गरेको हो। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भन्नु भयो – कोईकाले यसअघि पनि अस्पतालको विस्तारका लागि ८.५ मिलियन अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको स्मरण गर्दै यो सहयोगले अस्पताललाई अझ प्रभावकारी र सुविधा सम्पन्न बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्त्री सिंहले अस्पतालले भक्तपुर र आसपासका विकट क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल सानो क्लिनिकका रूपमा सुरु भएको थियो। अब यो अस्पताल आधुनिक सुविधासहित विस्तार हुँदैछ। यसले स्थानीय नागरिकलाई मात्र होइन, उपत्यकाका विकट क्षेत्रका बिरामीहरूलाई पनि सेवा उपलब्ध गराउनेछ।” उनले स्वास्थ्यप्रति सचेत रहन र समयमै स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रेरित गरे।
नगर उपप्रमुख विजय श्रेष्ठका अनुसार, नयाँ भवन निर्माणपछि यो अस्पताल भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, र सिन्धुपाल्चोक जिल्लाका नागरिकका लागि रेफरल अस्पतालका रूपमा विकसित हुनेछ। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई समेत गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिनेछ। उनले भने, “कोईकाको सहयोगमा बन्न लागेको यो आधुनिक भवनले आधुनिक प्रविधिसहितका स्वास्थ्य उपकरण र विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। यसले विकट क्षेत्रका नागरिकको स्वास्थ्यमा सुधार ल्याउनेछ।”
नेपालका लागि दक्षिण कोरियाका राजदूत ताईयोङ पार्क (Tae-Young Park)ले नयाँ भवनले नेपाल-कोरिया सम्बन्धलाई थप मजबुत बनाउने र अस्पतालले आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नु भयो । उहाले भन्नुभयो , “यस अस्पतालले दुई देशबीचको सहकार्य र साझेदारीलाई अझ मजबुत बनाउँदै स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्नेछ।” कोईकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कोङ्ग (Mooheon Kong ) ले यो अस्पतालले स्थानीय स्तरमा मात्र नभई, क्षेत्रीय रूपमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्ने बताउनु भयो।
शिलान्यास समारोहमा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, स्थानीय जनप्रतिनिधि, र विभिन्न राजनीतिक दलका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पताल भवनको उत्कृष्ट डिजाइन गर्ने जेके एसोसियट्सलाई उपप्रधानमन्त्री सिंहद्वारा प्रशंसा पत्र प्रदान गर्नु भयो ।
यो अस्पतालले नेपालका दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र नभई नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नवीनता र गुणस्तरको मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ। सुविधासम्पन्न भवन निर्माणपछि अस्पतालले प्राणघातक रोगहरूको रोकथाम र उपचारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। नयाँ भवनले आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक सबै प्रविधि र संरचना समावेश गर्नेछ, जसले देशको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।