सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो ।

गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ मा जनआन्दोलन भयो । तत्कालीन राज्यसत्ताको चरम तानाशाहीबीच हजारौं शहीदको रगतले लेखिएको हो गणतन्त्र ।

 नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापित यो व्यवस्था आज पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक छ। तर, पछिल्लो समय गणतन्त्रका उपलब्धिमाथि प्रश्न उठाउने, नागरिकमा भ्रम र उत्तेजना फैलाउने तथा व्यवस्थामाथि वितृष्णा बढाउने कार्यहरू खुलेर देखिन थालेका छन्, जुन गम्भीर चिन्ताको विषय हो ।

गणतन्त्रको विरोध केवल विचारको असहमति मात्रै होइन, योजनाबद्ध रूपमा व्यवस्था पुनः पछाडि धकेल्ने प्रयासकै रूपमा दुरुपयोग गर्ने प्रयास देखिएका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म मात्र होइन, सदनमा समेत देखिने यस्ता गतिविधिहरूले लोकतान्त्रिक मूल्य र संविधानप्रति अविश्वासको बीउ रोप्ने र गणतन्त्र प्रति खतरा पैदा गर्ने  देखिन्छ ।

तर, यहाँ बुझ्नुपर्ने कुरा कहाँ छ भने गणतन्त्र बिरोधिका गतिविधिले मात्र यो ब्यवस्था कमजोर बनाइदैँ छैन । गणतन्त्रका ठेकेदार हुँ भन्ने दलहरूका जनविरोधी रबैयाले गर्दा अन्ततः जनताको ब्यवस्था मानिएको गणतन्त्र बदनाम र कमजोर बनाइँदैछ ।

जनताले अपेक्षा गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सुशासन र समानताको प्रत्याभूति अझै सन्तोषजनक ढंगले हुन सकेको छैन।

भ्रष्टाचार, ढिलासुस्ती, पार्टीगत भागबण्डा र नेतृत्वको अकर्मण्यताले जनताको भरोसा कमजोर बनाएको छ। जब जनतामा नै व्यवस्था प्रतिको विश्वास खुम्चिन थाल्छ, त्यही अवस्था गणतन्त्र विरोधीहरूका लागि उर्वर भूमि बन्न पुग्दछ भन्ने हेक्का हुनु जरुरी छ ।

यस सन्दर्भमा सोचनीय कुरा के छ भने सत्ता र प्रतिपक्ष दुबै गणतन्त्र प्रति ओठेभक्तिमा छन् तर, उनीहरू जिम्मेवार देखिएका छैनन् ।

नेताहरूले गणतन्त्रलाई केवल सत्ताको सिँढी हैन, जनताप्रतिको उत्तरदायित्वको माध्यम मानेर कार्य गर्नु आजको आवश्यकता भएको छ।

अर्को कुरा स्थानीय तहलाई जङ्गबहादुर बनाएर अथवा, प्रदेशलाई पङ्गु बनाएर गणतन्त्रको अपेक्षा पूरा हुँदैन । यिनीहरुलाई जनउत्तरदायी बनाउनु जरुरी छ।

स्थानीय सरकार र प्रदेशहरू नै गणतन्त्रको अभ्यासको अग्रपंक्ति हुन्। सेवा प्रवाह, पारदर्शिता र जवाफदेहितामा उनीहरू सधै अगाडि रहनुपर्छ ।

गणतन्त्र बलियो बन्न जनता बलियो बन्नुपर्छ । जनताले आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट बुझ्नुपर्छ।

संविधान, संघीयता र लोकतन्त्रको मूल्य नागरिकले बुझ्न नसक्ने हो भने आफ्नै बास्ना खोजेर भौँतारिने कस्तुरी झैँ हुने निश्चित छ ।

जनतालाई आफ्नो शक्ति परिचालन गर्न नागरिक शिक्षा र सचेतना अभिवृद्धि गर्नसके गणतन्त्रलाई ठेक्का ठान्ने ठेकेदारको हिसाबकिताब हुनेछ र जनताले ब्यवस्थामा आफ्नो सहभागिताको सजिलै अनुभूति गर्न सक्नेछन् ।

दिनसंगै रात भएजस्तै यो ब्यवस्थामा अध्यारा पक्ष पनि हुनसक्छन् । गणतन्त्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्दै उपलब्धिहरूको उजागर गर्नु अहिलेको आवश्यकता हो ।

जनताको आलोचना आवश्यक छ, तर त्यसलाई निर्माणात्मक र तथ्यमा आधारित बनाउनुपर्छ। झुटो प्रचार, अतिरञ्जना र घृणात्मक अभिव्यक्तिको पछि नलागी सशक्त खण्डन गर्नुपर्छ।

अरुले आफूलाई गरेको गालीमा जसरी रमाउन सकिदैन, त्यसैगरी गणतन्त्रको सत्तोसराप स्वीकार्य हुनसक्दैन । किनभने, यो ब्यवस्था जनताको आफ्नै ब्यवस्था हो । आफैं शासक बन्ने ब्यवस्थाको बिकल्प कुनै अमुक ब्यक्तिको तानाशाही हुन सक्दैन ।

युवापुस्ता नै गणतन्त्रका मुख्य संरक्षक हुन् । यसको भरपुर उपयोग गर्न सक्षम युवा पुस्ता अहिलेको आवश्यकता हो । हरेक क्षेत्रमा युवालाई नेतृत्वदायी भूमिकामा ल्याएर गणतन्त्रको उत्तराधिकारी बनाउन ढिला भइसकेको छ ।

पुरानो पुस्ताले मार्गदर्शक भएर बाटो देखाउने र नयाँ पुस्ताले नेतृत्व हाक्ने हो भने अबको थोरै वर्षमा जनताको धेरै अपेक्षा पूर हुने कुरामा बिश्वास गर्न सकिन्छ । तर, त्यसका लागि सुशासन र इमान्दार प्रयास पहिलो सर्त हो ।

निष्कर्षमा,
गणतन्त्रलाई संस्थागत गर्नु केवल शासन प्रणालीको रक्षा होइन, जनताको अधिकारको संरक्षण र प्रवर्द्धन हो। संविधानद्वारा सुनिश्चित यस व्यवस्थालाई मजबुत पार्न सबै नागरिक, राजनीतिक दलहरू र सबै संघ संस्थाहरूको उत्तरदायित्व अझ महत्वपूर्ण बन्दै गएको छ।

अहिले गुनासो गर्ने समय होइन, सुधारतर्फ लम्कने समय हो । भ्रमको प्रचार गर्ने होइन, भरोसा प्रदान गर्ने समय हो ।

अहिले हल्लामा हिड्ने होइन, शान्तपूर्वक ईतिहास पढ्ने बेला हो । यो पछाडि फर्कने होइन, अगाडि बढ्ने बेला हो । गणतन्त्रको बिकल्प अझ उन्नत गणतन्त्र मात्र हुनसक्छ । यसलाई सुदृढ पार्न हामी सबै मिलेर लागौं– जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं ।

गणतन्त्र दिवसको हार्दिक शुभकामना !