ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न नसक्ने बताउँदै संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग अपरिहार्य रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समिति बैठक तथा मनसुनजन्य विपद पूर्वतयारी र प्रतिकार्य योजनामाथिको छलफलमा प्रमुख महर्जनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै सावधानीपूर्वक तयारी आवश्यक छ। उनले २०७८ सालमा बाढीपीडितलाई गरिएको सहयोगका कारण अहिले पनि अख्तियारमा अनुशन्धान भैरहेको उदाहरण दिँदै कानुनी प्रावधानले कहिलेकाहीं कार्यान्वयनमा समस्या हुने बताएका छन्।
महानगरपालिकाका अनुसार विपद व्यवस्थापनका लागि ६ वटा दमकल, एम्बुलेन्सलगायतका उपकरण तयारी अवस्थामा छन् भने छिमेकी स्थानीय तहलाई पनि आवश्यक परेको अवस्थामा सहयोग गर्न तत्पर रहने जानकारी दिइएको छ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले संघ र प्रदेश सरकारबाट प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै जिल्लास्तरका विषयगत कार्यालयहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। उनले विपदपछिको पुनःनिर्माणमा आवश्यक बजेटको अभाव रहेको भन्दै एक अर्ब आवश्यक पर्ने स्थानमा बीस लाख मात्रै छुट्याउने जस्तो प्रवृत्तिले प्रभावकारीता आउन नसक्ने बताएका छन्।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद प्रतिकार्य समूहलाई स्थानीय तहका टोलटोलसम्म पुर्याउन आवश्यक रहेको भन्दै सबै निकायबीच समन्वय अपरिहार्य रहेको बताए।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले मनसुनका समयमा देखिन सक्ने जोखिमको पहिचान, प्रभावको आकलन र न्यूनीकरणका उपायहरूमाथि सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी थिइन्।
छलफलमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष शिव कट्टेल, नेपाली कांग्रेसका जिल्ला सचिव बशिष्ठकुमार अधिकारीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए।