
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसँगसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा आज शनिबार यहाँ आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशले आगामी बजेटमा प्रविधिसँगसँगै नैतिकता, अनुशासन र मर्यादासँग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने बताएका हुन्।
“पहिलेको पुस्ता बिहान उठ्नेबित्तिकै मातापितालाई ढोग्थे, अहिले उठ्नेबित्तिकै मोबाइलमा घोप्टिने चलन छ । परम्परागत संस्कृति अनुसार मातापितालाई सम्मान गर्ने नैतिक चलन अहिले प्रविधिलाई ढोग्ने चलनमा बदलिएको छ । प्रविधि हाम्रो ज्ञानबाट आविष्कार भएको विज्ञान हो, प्रविधिसँग सही तरिकाले काम गर्नुपर्छ,” मुख्यमन्त्री बानियाँले भने।
उनले निजी शिक्षण संस्थालाई योग, ध्यान र प्राणायामलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्दै यसले मानिसलाई रोग लाग्नुअघि नै रोगविरुद्धका कार्य गर्न सक्ने क्षमता विकासमा सहयोग पुग्ने बताए।
“योग, ध्यान, प्राणायाम, साधना र नैतिकताले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मनस्थिति अनुकूल बनाएर बाँच्न र सिक्न सहयोग गर्छ । हाम्रो परम्पराले दिएको संस्कार र संस्कृतिको अवलम्बनले कठिन समयमा बलियो र सरल मान्छे बनाउँछ,” उनले भने।
मुख्यमन्त्री बानियाँले अबको शिक्षण पद्धति प्रविधिमैत्री हुँदै नेपाल र नेपालीलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताउँदै निजी विद्यालयहरूले पनि प्रविधिमैत्री शिक्षासँगै नैतिक शिक्षालाई जोड दिनुपर्नेमा जोड दिए।
“समाजलाई विकृत गरेर द्वन्द्वतर्फ लैजानु हुँदैन ।
एआईको माध्यमबाट हुने–नहुने कुरा गरेर हामीले प्रविधिको दुरुपयोग गर्नुहुँदैन । प्रविधिको विकाससँगै नकारात्मक कुरालाई छोडेर हाम्रो परम्परा, संस्कृति र संस्कारलाई जोड्नुपर्छ । निजी विद्यालयहरूले नैतिक शिक्षालाई प्राथमिकतामा राखून्,” उनले भने।
मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाले नै विद्यार्थीलाई सफलताको शिखरसम्म पुर्याउने भन्दै उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक तथा शिक्षकलाई बधाई दिँदै शिक्षा क्षेत्रको गुणस्तर सुधारमा निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कारसहित सम्मान गर्दै आगामी दिनमा पनि अध्ययनमा निरन्तरता दिएर मेहनत गर्न तथा राष्ट्र निर्माणमा योगदान पुर्याउन आग्रह गरे।
कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व तथा शिक्षकलाई समेत सम्मान गरिएको थियो।







