बागमती नदीमा डुबेर दुई युवक बेपत्ता

सर्लाही । सर्लाहीका दुई युवक बागमती नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ रौतहटको चन्द्रपुर–१ नजिक बग्ने बागमती नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो पाँच जनाको समूहसँगै नदीमा पुगेका थिए ।

नदीको गहिरो भागमा पुगेपछि दुवै जना डुबेर बेपत्ता भएका हुन् । उनीहरूसँग रहेका अन्य तीन जना भने पौडी खेलेर सुरक्षित बाहिर निस्किएका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार घटनालगत्तै रौतहट र सर्लाहीका प्रहरी टोली तथा स्थानीयवासीले खोजी कार्य सुरु गरेका छन् । खोजीका क्रममा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ भने अर्को युवकको खोजी जारी छ ।

स्थानीयले घटनास्थल चार जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले खोजी कार्यमा प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरेका छन् ।

बागमती नदीमा यसअघि पनि नुहाउने तथा पौडी खेल्ने क्रममा पटक–पटक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।