हेटौंडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता, चलचित्र र लघु चलचित्र क्षेत्रमा सक्रिय २० जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौकी अध्यक्ष शोभा अर्याल संस्थागत पत्रकारिता विधामा सम्मानित भएकी छन् । प्रदेश भित्रका १३ जिल्ला शाखामा अर्याल अध्यक्ष निर्वाचित एक्ली महिला हुन् ।
कार्यक्रममा अर्यालसहित आधा दर्जन पत्रकार सम्मानित भएका प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले जनाएका छन् । सम्मानित अन्य पत्रकारमा मकवानपुरका प्रताप बिष्ट (अग्रज सम्मान) धादिङका नवराज छत्कुली (ग्रामीण पत्रकारिता), चितवनका नेपोलियन चेपाङ (विकास पत्रकारिता), सिन्धुपाल्चोककी कमला तामाङ (तामाङ भाषा पत्रकारिता) र नुवाकोटका रामचन्द्र अर्याल (युवा पत्रकारिता) बाट समानित भएका छन् ।

चलचित्र विधामा काठमाडौँका मनोजकुमार केसी (बागमती चलचित्र पुरस्कार) र अर्जुन कार्की (साहसिक चलचित्र पुरस्कार) बाट पुरस्कृत भए ।
लघु चलचित्रतर्फ चितवनका अशोक पाठक (प्रथम), दोलखाकी उषा अधिकारी (द्वितीय), काठमाडौँका दिप्नेश श्रेष्ठ (तृतीय) र प्रेम सापकोटा तथा गोपाल थापा (सान्त्वना) लाई नगदसहित सम्मान गरिएको छ ।
पटकथा कार्यशालामा सहभागिता जनाएका ७ सर्जक — प्रदीप पाण्डे, गणेश खड्का, गृष्ठ श्रेष्ठ, एबिन्द्र मादेन लिम्बु, शिव पुरी, प्रभाकर देव शर्मा र दीपक कुमार घिमिरे — लाई प्रशंसा पत्र प्रदान गरिएको सञ्चार रजिस्ट्रार रेवती सापकोटाले जानकारी गराएका छन् ।
पुरस्कार वितरण समारोह प्रदेश मुकाम हेटौंडामा सम्पन्न भएको हो । पुरस्कार तथा सम्मानको वितरण प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्तरूपमा गरेका थिए ।