
मकवानपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि गरेको कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिका जिल्ला प्रथम भएको छ । ६६.३९ अंकसहित मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरूमध्ये प्रथम स्थानमा रहन सफल भएको हो ।
आयोगले सार्वजनिक गरेको मूल्याङ्कन विवरणअनुसार बागमती गाउँपालिकाले प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन र सुशासनका सूचकमा तुलनात्मक रूपमा सन्तुलित र प्रभावकारी प्रदर्शन गरेको देखिएको छ।
आयोगद्वारा जारी गरिएको विस्तृत तालिकामा स्थानीय तहहरूको कार्यसम्पादनलाई बहुआयामिक सूचकहरू प्रारम्भिक, मध्य तथा परिणाममुखी सूचकमार्फत मूल्याङ्कन गरिएको छ।
यस नतिजाप्रति प्रतिक्रिया दिँदै बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले यसलाई उपलब्धिको रुपमा उल्लेख गरे ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले गाउँपालिकाले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने, लेखा परीक्षणका सुझाव कार्यान्वयन गर्ने, बजेट कार्यान्वयनको प्रगति नियमित रूपमा अनुगमन गर्ने अभ्यासलाई प्राथमिकतामा राख्दै आएकोले उपलब्धि हासिल भएको प्रतिक्रिया दिएका छन् ।
यो गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीका नेता सर्केश घलान मधुको नेतृत्वमा रहेको छ । “आयोगले हेर्ने अधिकांश सूचकहरू सुशासनसँग जोडिएका हुन्छन्।” गाउँपालिका अध्यक्ष सर्केेेश घलानले भने, “हामीले सुशासनलाई प्राथमिकता दिदाँ मूल्यांकनमा उच्च अङ्क आयो ।”
आगामी वर्षहरूमा डिजिटलाइजेशन, पारदर्शिता र सेवाको गुणस्तरलाई थप बलियो बनाउने उनले बताए ।
बागमती गाउँपालिकाले प्राप्त गरेको यो नतिजाले जिल्लाभित्र सुशासन र प्रभावकारी प्रशासनको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरू बताउँछन् ।







