महिला संघ मकवानपुरमा अपारदर्शी सदस्यता वितरण जिल्ला पार्टीलाई अमान्य : नेतृ न्यौपाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आफ्नो भातृ संस्था नेपाल महिला संघको अधिवेशनका कार्यक्रम तय नगर्न निर्देशन दिएको छ ।

महिला संघको सदस्यता वितरणमा जिल्ला पार्टीको तर्फबाट संयोजक रहेकी जिल्ला कार्यसमितिकी सहसचिव इन्दिरा न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएकी हुन् ।

नेतृ न्यौपानेले सदस्यता वितरणमा पार्टीको नीति, विधान र निर्देशन विपरित कार्यहरू गरिएको खुल्न आएकोले यस्तो निर्देशन दिनु परेको प्रष्ट पारिन् । अपारदर्शी र एकलौटी किसिमले बाडिएको सदस्यता पार्टीलाई अस्वीकार्य र अमान्य रहेको उनले बताइन् ।

“पार्टीलाई मात्र होइन, महिला संघकै पनि नगर र क्षेत्रीय सभापति एवं  अन्य जिम्मेवार पदाधिकारीहरूलाई समेत थाहा नदिइ सदस्यता बितरण गर्ने कार्य गरिएकाले त्यसलाई अबैध ठहर गरिएको छ ।” नेतृ न्यौपानेले ननस्टपखबरसंग भनिन्।

पुराना र क्रियाशिल महिलाहरुलाई सदस्यताबाट बन्चित गरी महिला संघको अधिवेशन हुन नसक्ने जिल्ला नेतृत्वले निष्कर्ष निकालेको जानकारी गराउदै उनले विधान अनुसार मात्र सदस्यता प्रदान गर्दै अधिवेशनमार्फत संगठन सुदृढ गर्न बिज्ञप्ति जारी गर्नुपरेको जनाएकी छन् ।

नेपाली कांग्रेस मकवानपुरले पार्टीको एकता, अनुशासन र मर्यादा कायम राख्न जोड दिएको जिकिर गर्दै उनले ब्यक्तिगत मनोमानीको पछि पार्टी लाग्न नसक्ने र पार्टीले सबै नेताकार्यकर्तालाई समान ब्यवहार र न्याय गर्ने दावी गरिन् ।

हेर्नुस् नेतृ न्यौपानेले जारी गरेको नेपाली कांग्रेस मकवानपुरको प्रेस बिज्ञप्ति