भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलले काठमाडौ विश्वविद्यालयले सञ्चालन गरेको धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेका छन् ।
मंगलबार सम्पन्न उक्त भ्रमणमा दुबै अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरणका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नगरप्रमुख प्रजापति नेतृत्वको टोलीमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल, स्त्री रोग विशेषज्ञ डा. युजिन श्रेष्ठ, एमडीजीपी डा. निर्जना बजिक्व, जिन्सी शाखा प्रमुख विनोद दनेखू सहभागी थिए।
टोलीलाई धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले स्वागत गरे।
अवलोकनपछि आयोजित छलफलमा नगरप्रमुख प्रजापतिले ख्वप अस्पतालको सेवा विस्तार र मेडिकल कलेज स्थापनाको योजनाबारे जानकारी दिँदै अस्पतालले दैनिक एक हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको उल्लेख गरे।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले पूर्वाधार विस्तार, उपकरण अद्यावधिक र सीटी स्क्यान सेवा सञ्चालनका प्रक्रिया अघि बढाएको जानकारी पनि दिए।
कार्यकारी निर्देशक माकजुले धुलिखेल अस्पतालको सेवा, जनशक्ति उत्पादन र शल्यक्रिया सेवाको विवरण प्रस्तुत गर्दै हालसम्म २२ हजारभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन गरिएको र वार्षिक करिब २० हजार शल्यक्रिया हुँदै आएको जानकारी गराए।
सरकारी अस्पतालहरूसँग सहकार्य गर्दै गुणस्तरीय सेवा प्रवाहमा अस्पताल अग्रसर रहेको बताए।
छलफलमा दुबै पक्षले सहकार्य विस्तार गर्दै अगाडि बढ्नुपर्नेमा सहमति जनाए।
भ्रमणको अन्त्यमा नगरप्रमुख प्रजापतिले अस्पतालका विभिन्न विभागको अवलोकन गरे र उपहार आदानप्रदान समेत गरिएको नगरप्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।