सिटी स्क्यान लगत्तै भक्तपुर अस्पतालमा भित्रियो डायलासिस मेसिन

भक्तपुर । भक्तपुरको दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस मेसिन आइपुगेको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो ।

भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको पुष्टि गरे ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा बिभागले सूचीकृत गरी अनुमति दिएपछि डायलासिस सेवा शुरु गर्ने भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टको भनाइ छ ।

“दैनिक ३ सिफ्ट सञ्चालन गरी एकैदिन ४५ जना मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिन्छ ।” उनले भने ।

भक्तपुर अस्पतालकै परिसर भित्र “शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र” भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रले डायलासिसको समय नदिएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् ।

निजीमा एकपटक डायलासिसको सामान्य शुल्क: रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ ।

महिनामा औसत १० देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औषत रु ५० हजार सम्म खर्च हुनेगर्दछ ।

भक्तपुर अस्पतालमा भने डायलासिस सेवा नि:शुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल बिकास समितिका अध्यक्ष शशीजङ्ग थापाले बताए । 

मिर्गौलाले काम नगर्ने बिरामीले हप्तामा दुई पटकसम्म डायलासिस निःशुल्क गर्न पाउने र औषधि तथा किटको खर्च समेत सरकारले व्यहोर्ने व्यवस्था भएकोले भक्तपुर अस्पतालले शुल्क नलिने बताइएको छ ।

वीर अस्पताल पछिको दोस्रो जेठो यो अस्पताल बागमती प्रदेश सरकार मातहत आएपछि प्रगति गरिरहेको अस्पताल हो । संघ अन्तर्गत रहँदा रिफर सेन्टरको रुपमा बदनाम भक्तपुर अस्पताल प्रदेश मातहत आएपछि आइसियु, एनआइसियु, एचडियु सहित अत्याधुनिक शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ । गत जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताए ।

न्युनतम सेवा मापदण्डको आधारमा मुल्यांकन गरिँदा भक्तपुर अस्पताल सर्वोत्कृष्ट अस्पताल समेत घोषित भइसकेको छ । पछिल्लो समय यो अस्पतालको प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको अस्पतालकी पूर्व निर्देशकसमेत रहेकी बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतम बताउँछिन् । भक्तपुर अस्पतालको परिवर्तन प्रदेशको औचित्य र महत्व प्रमाणीत गर्ने माध्यम समेत बनेको प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले बताएका छन् ।

यसैबीच, भक्तपुर अस्पतालमा ल्याब रिपोर्ट पनि अब क्वीआर (QR) कोडमार्फत उपलब्ध हुने भएको छ ।  आज मंगलबार बाट शुरु यो सेवामार्फत सेवाग्राहीहरुले अस्पतालमा गरिएका प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) रिपोर्टहरू QR कोड स्क्यान गरेर सरल तरिकाले प्राप्त गर्न सक्ने अस्पतालका आइटी विज्ञ दिपेश खड्काले जानकारी दिए ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयको ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रमअन्तर्गत भक्तपुर अस्पतालले QR कोड स्क्यान गरेर रिपोर्ट सिधा मोबाइलमा हेर्न सकिने ब्यवस्था मिलाएकोमा सन्तोष ब्यक्त गरेका छन् ।