भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री तयार पारिएको योग जिल्ला समन्वय समितिले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय सांस्कृतिक विभाग अन्तर्गत योग विषयका प्राध्यापक डा. क्षितिज बराकोटीको निर्देशन तथा योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नवराज काफ्लेको व्यवस्थापनमा सो सामाग्री तयार गरिएको बताइएको छ ।
श्रव्य–दृष्य सामाग्री निर्माणमा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, पत्रकारद्वय संजीप घिमिरे शुभचिन्तक र अन्जिर सिंह बिक त्यसैगरी योगगुरु भानुभक्त दहाल र कविता पाठकले प्राविधिक सहयोग गरेका ब्यवस्थापक नवराज काफ्लेले बताए ।
रेकर्डिङमा विद्यार्थी, शिक्षक र योगगुरुहरूको योगदान रहेको उनले उल्लेख गरेका छन् ।
अब यी श्रव्य–दृश्य सामाग्रीमार्फत भक्तपुरका हरेक विद्यालयमा शिक्षकले सजिलै विद्यार्थीहरूलाई नियमित योगसाधना गराउन सक्नेछन्।
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख कमला ज्ञवालीले शिक्षा क्षेत्रमै पहिलोपटक व्यवस्थित रूपमा योगलाई कक्षा–कक्षामा प्रवाह गर्न थालेको स्मरण गर्दै श्रव्य–दृष्य सामाग्रीको उपलब्धता संगै कक्षा थप प्रभावकारी हुने प्रष्ट पारिन् ।
विद्यार्थीको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य उत्थानमा यसले सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।







