खानामा विष राखी खुवाएपछि सासुको गयो ज्यान

बिराटनगर । मोरङको बेलबारी–२ मा खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षकी इन्द्रमाया राईको ज्यान गएको छ । उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था पनि गम्भीर छ ।

शनिबार भक्तबहादुर घर नजिकै खोल्सामा बेहोस फेला परेका थिए। घरमा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस भेटिइन्। दुवैलाई नोबेल मेडिकल कलेज लगिएकोमा इन्द्रमायाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनास्थलको खोरमा कुखुरा समेत मरेका भेटिएपछि विष प्रयोगको अनुसन्धानमा प्रहरी अनुसन्धान केन्द्रित रहेको थियो ।

डिएसपी हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार उनीहरूका भतिजाबुहारी सुनितालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले खानामा विष राखी खुवाएको बयान दिएकी छन् । विषको बट्टा अगेनामा जलाएको अवस्थामा बरामद गरिएको डिएसपी चौधरीले जानकारी दिए ।

थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।