
बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ।
नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।
प्रहरीले दुर्ब्यवहारको आरोपमा दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संयोग गौतम र अर्पित कुँवर रहेका छन् ।
घटनापछि आफ्नो प्रतिक्रियामा नेता बस्नेतले भने, “विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र स्वतन्त्र आवत–जावत सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत लोकतन्त्रमा कहिल्यै स्वीकार्य हुँदैन।” उनी युवा संघको कोशी प्रदेश जागरण भेलामा सहभागी हुन आएका हुन् ।
यसैबीच, युवा संघ नेपाल कोशी प्रदेशद्वारा आयोजित जागरण सभा सुनसरीमा सुरु भएको छ।
आक्रमण प्रयासको निन्दा गर्दै नेता बस्नेतका सहयोगी तथा युवा संघका कार्यकर्ताले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सहयोगीको रुपमा देखा परेका नेता बस्नेतप्रति पछिल्लो समय जेनजी आन्दोलनकारी समूह असन्तुष्ट छन् । आक्रमणमा उनीहरूको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।







