मतदानका लागि एमालेका महाधिवेशन प्रतिनिधि लाइनमा

 काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि हुने मतदानका लागि मतदाता लाइन्मा बसिसकेको छन् ।कार्यतालिकाअनुसार मतदाता लाइनमा लागिसकेका हुन्।

ईश्वर पोखरेल मतदानस्थलमा उपस्थित भइसके पनि केपी शर्मा ओली नआएकाले मतदान सुरु हुन बाँकी छ। केही बेरमै मतदान सुरु हुने बताइएको छ।

मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित प्रयोग हुँदा प्राविधिक समस्या देखिएपछि मतदान आजका लागि सारिएको हो।

मङ्गलवार साँझसम्म मतदाताहरू मतदानको आशामा लाइनमा बसे पनि राति ८ बजे मतदान स्थगित भएको जानकारी दिइएपछि फर्काइएका थिए। पार्टीका महासचिव शंकर पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लागेकाले निर्वाचन आयोगको निर्देशनअनुसार एक दिन मतदान स्थगित गरिएको हो।

नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्। उनीहरू प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।