ओलीका खास भनिएका नेताहरूले छोडे साथ, पोखरेल पक्षबाट उम्मेदवार बन्ने

काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएपछि पार्टीभित्र दुई समूह पदाधिकारीको उम्मेदवार टुंग्याउन ब्यस्त छन्। केही पदमा उम्मेदवार टुंगो लागिसके पनि केही पदमा उनीहरू अझै कसरत गरिरहेका छन्।

यसैबीच, ओलीका कट्टर समर्थक मानिएका नेताहरू नै अहिले उनलाई काउन्टर दिने तयारीमा देखिएका छन्। पूर्वमन्त्री तथा पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठले ओलीको साथ छोड्दै पोखरेल पक्ष रोजेका छन्।

काभ्रेका नेता बास्कोटा ओली सरकारमा प्रवक्तासहित सञ्चारमन्त्री बनेका थिए । ओलीका खास बिश्वासपात्र मानिएका बास्कोटा ओली सरकारमा प्रवक्ता मात्र थिएनन्, बालकोटस्थित ओली निवासमै बसेर सञ्चार मन्त्रालय हाकिरहेका थिए । तर पार्टीभित्र ओलेले एकलौटी गरेको र विधि मिचिएको आरोप लगाउँदै उनी ओलीबाट टाढिएका छन्। अहिले बास्कोटा पोखरेल पक्षबाट सचिवको उम्मेदवार बन्ने लगभग निश्चित छ।

त्यस्तै, ओलीलाई यस अघि ‘नेपाली राजनीतिको पेले’ ठान्ने गरेका पूर्व शिक्षामन्त्री समेत रहेका काठमाडौंका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ पनि अहिले पोखरेल पक्षमा खुलेका छन्। उनी पनि सचिव पदको उम्मेदवार बन्ने तयारीमा छन्।

पोखरेल पक्षका नेताहरूका अनुसार ओली पक्षभित्र अझै असन्तुष्ट धेरै छन् र अन्तिम समयमा थप नेताहरू पोखरेलतर्फ खुल्दै आउने प्रवल सम्भावना रहेको छ।

कार्यतालिका अनुसार पुस १ गते मतदानबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि देशभरबाट र मनोनीत समेत गरि करिब २ हजार ४ सय महाधिवेशन प्रतिनिधि व्यग्र प्रतीक्षामा रहेका छन् ।