एमालेले पनि अघि सार्यो आफ्नो प्रधानमन्त्री

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने स्पष्ट राजनीतिक सन्देश अघि सारेको छ।

शनिबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अगाडि सार्दै पार्टी पूर्ण बहुमतसहित सरकार गठन गर्ने लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् ।

बैठकले सोही निर्णयअनुसार देशभरका अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवारहरू टुङ्गो लगाएको छ । उम्मेदवार छनोटसँगै एमालेले संगठन सुदृढीकरण, चुनावी रणनीति र जनसम्पर्क अभियानलाई एकसाथ अघि बढाउने नीति लिएको छ ।

यसैबीच, एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन गरिएको छ । रुपन्देही–२ बाट लगातार निर्वाचन जित्दै आएका पौडेललाई यसपटक पाल्पा–२ बाट उम्मेदवार बनाइएको छ । यसअघि पाल्पा–२ बाट निर्वाचित ठाकुर गैरेलाई टिकट नदिई पौडेललाई अघि सारिएको निर्णयलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।

सचिवालय बैठकले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको छ । केही संवेदनशील तथा रणनीतिक महत्वका क्षेत्रमा भने ‘अध्यक्षले टुङ्गाउने’ भन्दै अन्तिम निर्णय पार्टी अध्यक्ष ओलीकै हातमा राखिएको छ ।

कोशी प्रदेशको झापा क्षेत्रबाट अध्यक्ष ओली स्वयं उम्मेदवार बन्ने निश्चित गरिएको छ । यसलाई एमालेले ‘ओली नेतृत्वमा स्थिर सरकार’ भन्ने नारासहित चुनावमा जाने स्पष्ट संकेतका रूपमा व्याख्या गरेको छ ।