काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)को केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको छ। एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेश समेटिएको नयाँ संरचना घोषणा गरिएको हो।
युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय टोली गठन गरिएको छ।
घोषित टोलीमा सह–संयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल र विनिता काफ्ले रहेका छन्। अध्यक्ष ओलीले नवगठित टोलीलाई बधाइ दिँदै सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले एनभिएफ सामाजिक सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने संस्थाका रूपमा काम गर्ने बताए।
गत असोज १५ गते भक्तपुरको गुण्डुमा आयोजित घोषणासभामा केन्द्रीय टोली सार्वजनिक गरिने जानकारी दिइए पनि औपचारिक रूपमा आज घोषणा गरिएको हो।
यसै क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वयंसेवक फोर्स कुनै राजनीतिक प्रतिस्पर्धा वा विरोधका लागि होइन, विपद्, संकट र अराजकताविरुद्ध जनताको सुरक्षा तथा सहयोगका लागि तयार गरिएको संरचना भएको स्पष्ट पारे। उनले फोर्सले जनधनको सुरक्षा, औद्योगिक प्रतिष्ठानहरूको संरक्षण तथा अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै काम गर्ने उल्लेख गरे।
अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट नै मुलुकले राजनीतिक निकास पाउने भन्ने पार्टीको अडान पुनः दोहोर्याए।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठ संयोजक रहेको केन्द्रीय कमाण्ड औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।







