यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या

भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो ।

प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख नेताकार्यकर्ता उपस्थिति रहने बताइरहँदा पोलिट्ब्युराे सदस्य महेश बस्नेत भने ५ लाख मानिस आउने जिकिर गरिरहेका थिए ।

जेनजी आन्दोलनपछि लत्रिएको एमालेले महाधिवेशनको मौकामा आफ्नो शक्ति प्रदर्शन गर्न खोज्नु स्वभाविक नै थियोे । तर, मानिसमा एमालेप्रति पहिलेकै आकर्षण भने देखिएन ।

राजनीतिको यो विषम परिस्थितिमा एमालेले भने जति जनमास उतार्न सकेन  वर्तमानमा उसको आकँलन नमिल्नु पनि सामान्य नै मान्न सकिन्छ ।

सबै राजनीतिक दल रक्षात्मक अवस्थामा रहेको यो अवस्थामा जति एमाले कार्यकर्ता उपस्थित भए, त्यसले एउटा सन्देश भने दिएकै छ । एमाले धुलो टकटकाउदै उठिरहेको सन्देश यसले दिएको बिश्लेशकहरु बताउँछन् ।

तर, त्यसको बेवास्ता गर्दै मास ठूलो देखाउन जुन एउटा एआई फोटो त्यो पनि एमालेको जिम्मेवार नेता कार्यकर्ता तहबाट प्रचार गरियो, त्यसले उत्कृष्ट व्यवस्थापन र सहभागी कार्यकर्तालाई खल्लो त बनायो नै विपक्षीले पनि एउटा राम्रो मसला पाए ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले समेत त्यसप्रति कटाक्ष गर्दै महेश बस्नेत र एमालेले एआईको सहाराले उपस्थितिबारे भ्रम फैलाएको भन्न भ्याए । भ्रामक तस्बिरको पुस्ट्याई नगरी सामाजिक संजालमा शेयर गर्दा एमालेका ठुला र बौद्धिक भनिएका नेताहरू पनि नाङ्गिए ।

वास्तवमा एमालेको उद्घाटनमा कति उपस्थित भए भन्ने बुझ्न एमालेको वास्तविक तयारीबारे पनि बुझ्नुपर्छ । उद्घाटन स्थल सल्लाघारीको १०८ रोपनीको चौरमा एमालेले ४० रोपनी मात्र भाडामा लिएको थियो । एमालेले चौर नभरिने अग्रिम आकँलन गरेर नै नेपाल ट्रस्टलाई ४० रोपनीको मात्र कर तिरेर भाडामा लिएको एमाले भक्तपुरका एक नेताले ननस्टपखबरलाई बताए ।

उद्घाटनमा सहभागी रहेको संख्या १ लाख भन्दा माथि नभएको एक एमाले उच्च नेताले पनि स्वीकार गरेका छन् ।तर, भक्तपुरस्थित सुरक्षा निकायले भने उपस्थित संख्या ३५ देखि ४० हजारभित्र रहेको तथ्यांक निकालेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग श्रोतका अनुसार स्टेज र सुरक्षामा गरि २ हजार मानिस रहेका थिए भने अगाडि पट्टी राखिएका १० हजार कुर्सी भने पूरै भरिएका थियो । पत्रकार सम्मेलनमा २५ हजार कुर्सी राखिएको दावी गरिएपनि १० हजार कुर्सी राखिएको थियो ।

त्यसपछि करिब १५ हजारको संख्यामा मानिसहरू चौरमा छरिएर रहेका थिए भने भित्रबाहिर गरिरहेका बाकी मानिस जोड्दा पनि संख्या ४० हजार माथि जाने अवस्था थिएन ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि गृह मन्त्रालयलाई पठाएको रिपोर्टमा ३५ हजारको उपस्थिति उल्लेख गरेको जिप्रका श्रोतले जनाएको छ ।