
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए।
भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले स्थानीय जनताको सेवा गर्ने बिश्वास व्यक्त गरे ।
प्रजापतिले सामाजिक र राष्ट्रिय ऐन–कानुनमा ध्यान दिँदै मौलिक तथा परम्परागत कला–संस्कृतिको संरक्षण र रैथाने समुदायसँगको सामिप्यता बढाएर सञ्चार माध्यममार्फत आत्मनिर्भरता हासिल गर्न सकिने बताए।
मेहनत र लगनशीलताका साथ जुनसुकै चुनौती सामना गर्दै सत्यतथ्य र वास्तविकता प्रस्तुत गर्न प्रमुख प्रजापतिले पत्रकारहरुलाई प्रेरित गरेका थिए ।
कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सञ्चार माध्यम नाफामुखी होइन, जनताको मौलिक समस्या केन्द्रित रिपोर्टिङमा उन्मुख हुनुपर्ने बताएका छन्। उनले सञ्चार माध्यमलाई राज्यको चौथो अंगका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।
सुवालले विद्यालय र कलेजस्तरीय शिक्षाको गुणस्तर सुधारका लागि भाषा र साहित्यको अध्ययनमा समर्पण आवश्यक रहेको उल्लेख गरे। साथै, विभिन्न उपकरण मर्मत गर्न सक्ने जनशक्ति उत्पादनमा सञ्चारकर्मीले महत्त्वपूर्ण योगदान दिन सक्ने धारणा व्यक्त गरे।
उनले उत्तर कोरिया र चिनियाँ प्रजातान्त्रिक व्यवस्थाको प्रचार गर्नुपर्नेमा ‘ट्रम्प शैली’को अमेरिकी अवधारणा नेपालका ठूला नेताहरूले प्रचार गरिरहेको टिप्पणीसमेत गरे।
तालिमका प्रमुख प्रशिक्षक तथा इमेज च्यानलका पत्रकार कृष्णकाजी मानन्धरले लक्ष्य ठूलो राखेर अपेक्षा कम गरेमा नतिजाले सन्तुष्टि दिने उल्लेख गरे ।
अर्का प्रशिक्षक विकेन रञ्जित र प्रदीप खड्गीले फोटोग्राफी र भिडियोग्राफीको कन्टेन्ट क्रियसन प्रभावकारी बनाउन अध्ययन भ्रमणसँगै सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए।
ख्वप टेलिभिजनका व्यवस्थापक रविन्द्रप्रसाद कुसि तथा प्रशिक्षार्थी शम्भोचरण राजभण्डारी र रबिता बासुकलाले तालिमबाट प्राप्त अनुभव साझा गरे।
मंसिर १२ देखि २७ गतेसम्म सञ्चालन भएको १५ दिने तालिमका प्रशिक्षकलाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गरिएको थियो भने २५ जना प्रशिक्षार्थीले प्रमाणपत्र पाए ।








