
शिवहरि खनाल, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ। दलको नीति, कार्यक्रम, नेतृत्व चयन तथा आगामी दिशा निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम नै महाधिवेशन हो। महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय मानिन्छ।
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि परिवर्तित मुलुकको राजनीतिक परिस्थितिमा दलहरूले आफूलाई लोकतान्त्रिक, सुदृढ र जिम्मेवार प्रस्तुत गर्न खोजिरहेका छन्। सोही क्रममा एमालेले आफ्नो महाधिवेशन सम्पन्न गर्यो भने कांग्रेसले पनि महाधिवेशनको मिति घोषणा गरिसकेको छ। साथै नेपाली कम्युनिस्ट पार्टीलगायत दलहरू पार्टी एकता गर्ने, नयाँ दल गठन गर्ने, चुनाव केन्द्रित कार्यक्रम गर्ने आदि काममा लागेका छन्।
देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक रहेको एमालेको महाधिवेशनले दिन खोजेको सन्देशलाई निकै महत्वका साथ हेरिएको छ। तत्कालीन अवस्थाको सत्तासीन पार्टीको महाधिवेशन औपचारिक सांगठनिक कार्यक्रम मात्र होइन, बदलिँदो राजनीतिक चेतना, जनअपेक्षा र सत्ता–राजनीतिक यथार्थबीच आफूलाई पुनः स्थापित गर्ने अवसर पनि हो।
तर, महाधिवेशन सम्पन्न भएसँगै उठेको मुख्य प्रश्न अझै के हो भने—यो महाधिवेशनले साँच्चै नयाँ ऊर्जा प्रवाह गर्यो कि पार्टी फेरि पनि पुरानै ढाँचामा सीमित रह्यो ?
नीतिभन्दा नेतृत्वमै केन्द्रित महाधिवेशन
नेकपा एमालेको यो महाधिवेशन नीति र कार्यक्रमका लागि भन्दा पनि बढी नेतृत्व छनोटमा केन्द्रित रह्यो। एमालेले गत भदौमा विधान महाधिवेशन आयोजना गरेको थियो। विधान महाधिवेशन पार्टीको कार्यक्रम, कार्यदिशा जनताको बहुदलीय जनवादमा केन्द्रित भएर भयो, जुन एमालेको मार्गदर्शक सिद्धान्त हो।
विधान महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्ताव पारित गरेको थियो। साथै केन्द्रीय कमिटीको संख्या २५१ र केन्द्रीय पदाधिकारीको संख्या १५ मा सीमित गरेको थियो। तर एमालेले विधान महाधिवेशनबाट पारित विधानलाई तीन महिनामै संशोधन गर्दै पदाधिकारी संख्या बढाएको छ।
एमालेले दशौँ महाधिवेशनले पारित गरेको दुई कार्यकाल र ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था पहिले नै खारेज गरिसकेको अवस्था हो। ओलीले यो उमेरहद र कार्यकालको प्रावधान आफू पुनः अध्यक्ष हुन बाधा पर्ने भएकै कारण हटाइदिएको बुझ्न गाह्रो छैन।
एघारौँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनले राष्ट्रिय स्वाधीनता, स्थायित्व, विकास र सुशासनका नारामा जोड दिन खोजेको छ। अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा विगतका सरकार सञ्चालनका अनुभव, संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र वर्तमान राजनीतिक अवस्थाका चुनौतीहरूको व्याख्या गरिएको छ। यद्यपि प्रतिवेदनले विगतका कमजोरीप्रति आत्मालोचना गर्नभन्दा उपलब्धि र औचित्य पुष्टि गर्नमै बढी जोड दिएको पाइन्छ।
महाधिवेशनले तीन महिना अघि मात्र विधान महाधिवेशनले गरेका निर्णय उल्टाएको छ। मूलतः केन्द्रीय समितिको संख्या ३०१ र पदाधिकारी संख्या १९ आफ्ना गुटका नेता व्यवस्थापन गर्न गरिएको बुझ्न गाह्रो छैन।
यसलाई ओलीको चुनाव जित्ने रणनीति भन्दै आलोचना गरिएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले यसलाई नेतृत्वको स्वेच्छाचारिताका रूपमा लिँदै आपत्ति जनाएको थियो।
नेतृत्व चयन : प्रतिस्पर्धा भए पनि परिवर्तन किन आएन ?
महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सर्वाधिक चासोको विषय बन्यो। अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भयो। दुवै पक्षले आ–आफ्ना प्यानल खडा गरे। जेन–जी आन्दोलनपछिको राजनीतिक माहोलले नेतृत्व परिवर्तनको अपेक्षा बढाएको थियो। पुस्तान्तरण र नयाँ सोचको बहस उत्कर्षमा थियो।
तर नतिजाले पुरानै नेतृत्वलाई पुनः स्थापित गर्यो।
ओली प्यानलको विजयले एमालेभित्र “पुस्तान्तरण” र “नयाँ ऊर्जा” को बहस अझ तीव्र बनाएको छ। शीर्ष तहमा पुरानै अनुहार दोहोरिनुले पार्टी साँच्चिकै रूपान्तरणको बाटोमा छ कि सत्ता र संगठन सीमित व्यक्तिको वरिपरि घुमाइराख्ने पुरानै ढाँचामा अड्किएको छ भन्ने प्रश्न गहिरिएको छ।
नयाँ पुस्तालाई अवसर दिने प्रतिबद्धता कागजमा आकर्षक देखिए पनि व्यवहारमा निर्णायक नेतृत्वमा ल्याउन पार्टी अझै हिच्किचाइरहेको देखिन्छ। यसले ‘नयाँ ऊर्जा’ को दाबीलाई कमजोर बनाएको छ।
राष्ट्रिय राजनीतिमा एमालेको सन्देश
राष्ट्रिय राजनीतिसँग जोडेर हेर्दा एमालेले आफूलाई स्थायित्वको पर्यायका रूपमा प्रस्तुत गर्न खोजेको स्पष्ट छ। तर स्थायित्व सुशासन, जवाफदेहिता, संस्थागत प्रक्रिया र जनविश्वासबाट मात्र सम्भव हुन्छ। संसद् विघटन, सरकार सञ्चालनका विवाद र पछिल्ला वर्षमा बढ्दो जनअसन्तोषलाई जनताले सूक्ष्म रूपमा नियालिरहेका छन्।
विशेष गरी युवापुस्तामा दलप्रतिको वितृष्णा, वैकल्पिक राजनीतिक चेतनाको उदय र सडक आन्दोलनहरूले परम्परागत दलहरूलाई गम्भीर आत्ममूल्याङ्कन गर्न बाध्य बनाएका छन्। एमालेकै नेतृत्वमा सत्ता हुँदा भएको जेन–जी आन्दोलनप्रति जिम्मेवारी लिनु, सहिदहरूको सम्मान गर्नु र घाइतेहरूको उपचारमा सहयोग गर्नु आजको राजनीतिक नैतिकताको परीक्षा हो।
निष्कर्ष : ऊर्जा र चुनौती
एमालेको महाधिवेशनले पार्टी कार्यकर्तालाई उत्साह र एकताको सन्देश दिन खोजेझैँ देखिए पनि त्यो ऊर्जा कति नयाँ छ भन्ने प्रश्न अनुत्तरित छ। पुरानै नेतृत्व, पुरानै शैली र पुरानै राजनीतिक संस्कारलाई निरन्तरता दिँदै ‘नयाँ युग’ को दाबी गर्नु विरोधाभासपूर्ण देखिन्छ।

अब एमालेका लागि चुनौती जनताको दैनिकीसँग जोडिनु, आलोचनालाई स्वीकार्दै सुधारको आधार मान्नु र जेन–जी आन्दोलनको भावनाको सम्मान गर्नु हो।
यदि जेन–जी आन्दोलनले बदलेको राजनीतिक परिदृश्य अस्वीकार गरियो भने त्यो एमालेको राजनीतिक शून्यता हुनेछ। अध्यक्ष के.पी. ओलीका पछिल्ला गर्जनहरू त्यतैतिर उन्मुख देखिन्छन्।
(लेखक खनाल नेपाली कम्युनिष्ट पार्टीका सल्लाहकार हुन् । उनी समसामयिक राजनीति र समाज विकासबारे कलम चलाउँछन् )







