दिल्लीको सन्देश : रोजाइमा रवि, बालेनप्रति आशंका

काठमाडौं । नेपाल–भारत सम्बन्धमा देखिएको पछिल्लो तरंगबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नयाँदिल्ली भ्रमणलाई सामान्य राजनीतिक भेटघाटका रूपमा मात्र हेरिएको छैन। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको भ्रमणमा दिल्लीले नेपालको नयाँ सत्ता समीकरणलाई कसरी हेरिरहेको छ भन्ने संकेत दिएको छ ।

रविलाई दिल्लीमा दिइएको उच्चस्तरीय स्वागत, भाजपा मुख्यालयमा विशेष कार्यक्रम तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर लगायतसँग सम्भावित भेटघाटको कार्यतालिकाले यो भ्रमणलाई विशेष बनाएको बिश्लेशकहरु बताउँछन् । 

दिल्लीको रोजाइ : ‘अनिश्चित’ भन्दा ‘संवादयोग्य’ नेतृत्व
नेपालमा नयाँ राजनीतिक शक्तिको उदयसँगै भारतले पनि आफ्नो कूटनीतिक रणनीति पुनः परिभाषित गरिरहेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाह जनमतका हिसाबले लोकप्रिय भए पनि उनको कार्यशैलीलाई दिल्लीले अझै पूर्ण रूपमा बिश्वास गर्न नसकेको विश्लेषण गरिएको छ।

विशेषतः सीमा, राष्ट्रवाद र विदेश नीतिका विषयमा बालेनले स्थापित कूटनीतिक अभ्यासभन्दा फरक ढंगले धारणा सार्वजनिक गरेपछि भारतको अझ बढी झस्किएको बताइन्छ  । पछिल्ला सीमा सम्बन्धी अभिव्यक्तिले काठमाडौं र दिल्लीबीच बहससमेत जन्माएको छ ।

यही पृष्ठभूमिमा दिल्लीले रवि लामिछानेलाई तुलनात्मक रूपमा संवादमुखी, संस्थागत र सहकार्ययोग्य नेतृत्वका रूपमा हेरेको बुझाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको मुख्य शक्ति भएकाले रविसँगको प्रत्यक्ष सम्बन्ध विस्तार गर्नु भारतका लागि रणनीतिक रूपमा उपयोगी हुने उनीहरूले राम्ररी बुझेका छन् ।

भ्रमणको अर्को सन्देश : नयाँ शक्तिसँग निकट सम्बन्ध 
भारतीय कूटनीतिले परम्परागत दलहरूसँग मात्र होइन, उदाउँदा शक्ति केन्द्रहरूसँग पनि सम्बन्ध विस्तार गर्ने नीति पछ्याउँदै आएको छ। त्यसैले यो भ्रमणलाई केवल पार्टी–टु–पार्टी सम्बन्धको सुरुवत भन्दा बढी नेपालको नयाँ राजनीतिक नेतृत्वलाई नजिकबाट बुझ्ने प्रयासका रूपमा हेरिएको छ। 

विश्लेषकहरूका अनुसार दिल्लीको मुख्य चासो नेपालमा स्थिरता, भारतमैत्री नीति र द्विपक्षीय सहकार्यको निरन्तरता हो। यदि बालेन नेतृत्वको सरकारसँग सम्बन्धित कुनै अन्योल वा आशंका छ भने त्यसलाई कम गर्न रविको भ्रमण उपयोगी माध्यम बन्न सक्छ।

नेपालको सन्दर्भमा यसको अर्थ
रविको भ्रमणले नेपालभित्र पनि एउटा राजनीतिक सन्देश दिएको छ कि भारत अब केवल पुराना शक्ति केन्द्रहरूमा सीमित छैन, उसले नयाँ पुस्ताका नेताहरूलाई पनि प्राथमिकतामा राख्न थालेको छ। तर यसलाई कुनै एक नेताप्रतिको समर्थन वा अर्को नेताप्रतिको अस्वीकारका रूपमा बुझ्नु हतार हुनेछ।

बरु दिल्लीको प्रयास नेपालको नयाँ सत्ता संरचनासँग विश्वासको आधार निर्माण गर्ने र सम्बन्ध तयार गर्ने दिशामा केन्द्रित देखिन्छ। रवि लामिछानेको दिल्ली यात्रा त्यसैको प्रारम्भिक अध्यायका रूपमा बुझ्नुपर्ने बिश्लेशकहरु बताउँछन् ।