आफ्नै सहकर्मीको सिकार भएको महिला अधिकृतको आरोप

काठमाडौं । निजामती सेवाकी एक महिला अधिकृतले आफ्नै सहकर्मीले बलात्कार गरेको पीडा पोखेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफू मानसिक पीडामा रहेको उनले बताइन् ।

जबरजस्ति करणीको मुद्धामा पिडक काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको र उच्च अदालतले पनि जिल्लाको फैसला सदर गरिदिँदा आफू अन्यायमा परेको उनले पीडा व्यक्त गरिन् ।

बारा स्थायी घर भएका पिडक काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको उनले बताईन् ।

 कार्यालयको कामले काठमाडौं आएको समयमा मैनाली थरका ती लेखा अधिकृले जबरजस्ति करणी गरेको उनको आरोप छ ।

 “आफू अविवाहित र घरको जेठो सन्तान भएकोले सो घटनालाई लुकाउन खोजेको तर, पीडकबाट थप सेक्सुअल हर्यास्मेन्ट, दबाब र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ ।” उनले भनिन् । 

सहनै नसक्ने अवस्थामा पुगेपछि कानुनी उपचारमा जाँदा सुरुमा प्रहरीले जाहेरी नलिएको बताउँदै उनले भनिन्,“२०८२ वैशाख १४ गते र ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाँदा प्रहरीले जाहेरी लिन निरुत्साहीत गर्नुभयो, धेरै पटकको प्रयासपछि जेठ २७ मा मैनाली विरुद्धको जाहेरी दर्ता भयो ।”

जाहेरी दर्तापछि मैनाली पक्राउ परेको तर, काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाडेपछि, आफू उच्च अदालत पाटनमा जाँदा पनि सो अदालतले जिल्लाकै निर्णयलाई सदर गरेको भन्दै पीडा व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा पीडितसंग शोभा पाठक पनि उपस्थित थिइन् ।