लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त

काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो।

पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा सुमनराज अर्याल परे।

तथ्यांक अधिकृतबाट निजामती सेवा यात्रा सुरु गरेका अर्याल सचिव भएको बेला पनि “लो प्रोफाइल” अधिकारीका रूपमा परिचित थिए। योग्य प्रशासक मानिए तापनि शक्तिशाली मन्त्रालयको नेतृत्वमा तत्कालीन सरकारहरुले उनलाई पत्याएनन् ।

काठमाडौको जोरपाटी निवासी अर्याल हाल रक्षा मन्त्रालयको सचिव रहेका छन् । उनले यस अघि राष्ट्रिय योजना आयोग, कोष तथा लेखा नियन्त्रण कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, महिला–बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका छन्।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वरिष्ठतम् सचिवको हैसियतमा उनलाई मुख्यसचिवमा नियुक्त गरेर न्याय गरेको प्रशासनविद्‌हरूको धारणा छ ।

पूर्वसचिव एवं प्रशासनविद दिपेन्द्रबिक्रम थापाले अवसर नपाउनेले पनि एक दिन न्याय पाउँने उदाहरण बन्न सुमनराज अर्याल सफल भएका प्रतिक्रिया दिएका छन् । यो टिप्पणीले पनि अर्यालको योग्यताबारे कुनै विवाद नरहेको स्पष्ट हुन्छ।