बारा घटनाबारे बोलिन् प्रधानमन्त्री

काठमाडौ । बाराको सिमरामा आज देखिएको तनाव र हिंसात्मक गतिविधिप्रति अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

हिंसा, तोडफोड र सार्वजनिक संरचनामा अवरोध कुनै पनि अवस्थामा लोकतन्त्रमा स्वीकार्य नहुने स्पष्ट पार्दै त्यस्ता कार्य नगर्न आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता हरेक नागरिकको अधिकार भए पनि त्यसको नाममा सार्वजनिक सम्पत्ति क्षति पुर्‍याउने, विमानस्थल जस्तो संवेदनशील संरचना अवरुद्ध गर्ने वा कानुन हातमा लिने छुट कसैलाई नहुने चेतावनी दिइन्।

स्थिति संवेदनशील बनेसँगै उनले गृह प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कता, संयम र पेशागत जिम्मेवारीसहित कानून व्यवस्था कायम राख्न निर्देशन दिएकी छन्।

सबै दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, आगामी निर्वाचनको वातावरण निष्पक्ष र भयमुक्त बनाउन राज्य संयन्त्र पूर्ण तयारीमा रहेको उनले बताइन्।

युवाहरूको वास्तविक अपेक्षा लोकतान्त्रिक प्रणालीमार्फत नै पूरा हुन सक्ने उल्लेख गर्दै कार्कीले सबै पक्षलाई अनावश्यक राजनीतिक उत्तेजनाबाट टाढा रहन, शान्ति र सहिष्णुता कायम गर्न तथा लोकतान्त्रिक प्रक्रियामा भरोसा राख्न आग्रह गरिन्।

सरकारले संवाद र लोकतान्त्रिक माध्यमबाट मात्र वर्तमान तनाव समाधान गर्न सकिने पुनः दोहोर्‍याउँदै कार्कीले देशमा स्थिरता, शान्ति र सुशासनका लागि सबैको सहयोग आवश्यक रहेको बताइन्।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण बनेको कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको घोषणा गरेको छ । बाराको सिमरामा जेन्जी युवा र एमाले युवाहरू बीच झडप हुँदा कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिनुपरेको थियो ।

यस्ता घटनाले चुनावी माहोल बन्न नसक्ने चिन्ता बढाएको राजनीतिक बिश्लेशकहरु बताउँछन् ।