काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवमा आज सहभागी भइन्।
अस्ट्रेलियाली राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले दुई देशबीचको दिगो मित्रता, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यको स्मरण गर्दै शुभकामना व्यक्त गरिन्।
प्रधानमन्त्रीले जेनजी आन्दोलनले नेपालमा जवाफदेही र पारदर्शी शासनप्रति जन अपेक्षा बढाएको उल्लेख गर्दै अब बन्ने सरकार पनि त्यसबाट पछि हट्न नमिल्ने प्रष्ट पारिन् । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र पारिरहेको उनले बताइन्।
अस्ट्रेलियाबाट प्राप्त विकास सहयोग, शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनमा पुर्याएको योगदानबारे आभार व्यक्त गर्दै उनले अस्ट्रेलियालाई नेपालकै विश्वस्त साझेदारको रूपमा व्याख्या गरिन्।
अस्ट्रेलियामा अध्ययन र बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्ध अझ निकट बनाइदिएको उल्लेख गर्दै पर्यटन, प्रविधि, नवीकरणीय ऊर्जा र लगानीका क्षेत्रमा नयाँ अवसर बढिरहेको बताइन्।
राजदूत लियान जोन्स्टनको कार्यकालका दौरान दुई देशबीचको सहकार्य सुदृढ भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको योगदानप्रति धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना प्रकट गरिन्।
प्रधानमन्त्री कार्कीले नेपाल–अस्ट्रेलिया मैत्री सम्बन्ध भविष्यमा झन् प्रगाढ र समृद्ध बन्दै जाने विश्वास व्यक्त गरिन्।






