पाकिस्तान–नेपाल एल्युम्नाइ नेटवर्क घोषणा

काठमाडौँ । पाकिस्तान दूतावासले पाकिस्तानी शैक्षिक संस्थाबाट स्नातक भएका नेपाली पूर्वविद्यार्थीहरूको वार्षिक एल्युम्नाइ कार्यक्रम  राजधानीको सोल्टी होटलमा सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा योजनामार्फत पाकिस्तानमा अध्ययन गरेका करिब ४ सय ५० जना पूर्वविद्यार्थी, विशिष्ट अतिथि तथा दूतावासका शुभेच्छुकहरु सहभागी भए।

कार्यक्रममा पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानमा अध्ययनको अनुभवले नेपाल–पाकिस्तानबीचको आपसी समझदारी, संस्कृतिको परिचय र मित्रता थप मजबुत बनेको बताए।

उनका अनुसार पाकिस्तानका विभिन्न संस्थाबाट स्नातक भएका करिब ४ हजार नेपाली अहिले नेपाल तथा विश्वभरका क्षेत्रमा सक्रिय रूपमा योगदान गरिरहेका छन्।

पूर्वविद्यार्थीहरूले दूतावासले आयोजना गरेको विस्तारित भेटघाट कार्यक्रमको प्रशंसा गर्दै दुबै देशबीच सांस्कृतिक, शैक्षिक तथा जनस्तरको सम्बन्ध अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।

सहभागीहरूले सूचना–प्रविधि, एआई, मेडिकल इनोभेशन तथा अन्य आवश्यकता आधारित अध्ययन–प्रशिक्षणलाई अझ विस्तार गर्नुपर्ने विचार पनि राखे।

कार्यक्रमको मुख्य आकर्षण ‘पाकिस्तान–नेपाल एल्युम्नाइ नेटवर्क’ गठनको घोषणा रहेको थियो, जसप्रति सहभागीहरू उत्साहित देखिएका थिए ।

 नेटवर्कले दुवै देशका पूर्वविद्यार्थीहरूलाई औपचारिक संरचनामा जोडेर दीर्घकालीन सहकार्य र साझेदारीलाई व्यवस्थित गर्ने दूतावासले बिश्वास ब्यक्त गरेको छ ।