नेपाली कम्युनिस्ट पार्टीमा एकताको सन्देश दिने पहिलो जिल्ला भयो भक्तपुर

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीको गठनसंगै भक्तपुरमा रहेका सो पार्टीमा आवद्ध नेता–कार्यकर्ता उत्साहित देखिएका छन्।

करिब एक दर्जन पार्टी/समूह एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शनिवार भक्तपुरमा पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेका हुन् । यसरी औपचारिक कार्यक्रम गर्ने भक्तपुर पहिलो जिल्ला बनेको छ ।

सूर्यविनायकमा सम्पन्न कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका नेताकार्यकर्ताले एकताको संदेश दिए ।

उनीहरूले एकापसमा बधाई र शुभकामनासहित परिचयात्मक कार्यक्रम सम्पन्न गर्दै भक्तपुरमा पार्टीलाई नयाँ उर्जासहित पहिलो राजनीतिक शक्ति बनाउने प्रतिवद्धता प्रकट गरे ।

तत्कालीन नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई तत्कालीन नेकपा(माओवादी केन्द्र)का संयोजक सुनिल गोठे बासुले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य नेसपा नेता केशव लुइँटेलको रहेको थियो ।

सो अवसरमा नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आयोजक समिति सदस्य दिलिप प्रजापति भीष्मले नेपालमा माक्र्सवादी र लेनिनवादी धाराका नेतृत्वकर्ता माधवकुमार नेपाल एवं माओवादी धाराको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड रहेको उल्लेख गर्दै दुबै धारा समाहित भइ बनेको आफूहरूको पार्टी नै मूलधारको कम्युनिस्ट पार्टी भएको स्पष्ट पारे ।

उनले भ्रम र अफवाहको पछि नलागी समाजवादको यात्रामा अघि बढ्नुपर्ने र त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले मात्र गर्नसक्ने कुरा आम जनसमुदायलाई बुझाउनुपर्ने बताए ।

कार्यक्रममा आयोजक समितिकी अर्की सदस्य भवानी खड्काले भक्तपुरमा नेमकिपालाई पनि एकतामा आउन आह्वान गरिएको खुलासा गरिन ।

साथै, उनले मदन भण्डारीको सम्मान गर्न नसक्ने र पूर्व रास्ट्रपति विद्या भण्डारीलाई समेत समेट्न नसक्ने नेकपा एमालेमा ठूलो बैचारिक र सांगठनिक बिचलन तथा बितृष्णा रहेको बताउँदै केही महिना भित्रै धेरै एमाले नेताकार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने जिकिर गरिन् ।

सो अवसरमा केन्द्रीय नेताहरू डिपी ढकाल, प्रतिमा श्रेष्ठ, श्रीराम खाइजू र संविधान सभा सदस्य सत्यलाल मूल लगायतका अग्रज नेताहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एकीकृत भएका दलहरूमा आवद्ध जिल्ला कर्य समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सो अवसरमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वमा बनेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले देशलाई जटिल मोडमा ल्याइपुर्याएकोमा चिन्ता व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टीले नै देशको दशालाई बदलेर सही दिशा दिनसक्ने सहभागीहरुले बिश्वास व्यक्त गरेका थिए ।

एकीकृत पार्टीप्रति उनीहरूको आखामा आशा, मुहारमा मुस्कान र बोलिमा बिश्वास देखिएको थियो ।