सिन्धुली । जेनजी विद्रोहपछिको वस्तुगत परिस्थिति र तथ्य अनुसार देशलाई सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले दिशानिर्देश गर्न नसकेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं बिघटित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को दावी छ ।
पुरानोको निरन्तरतामा मनोगत ढङ्गले चलेको कार्की नेतृत्वको सरकारको पनि गति र मति दुबै राम्रो नरहेको उनले दावी गरे ।
लुटिएको हतियार र जेलबाट फरार अपराधीहरू बाहिर खुलेआम रहेका र सरकार निर्वाचनको रटानमा रहेको उनले बताए ।
सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक नठानेकै कारण अर्थतन्त्र धरासायी बन्दै गएको उनले बताएका छन् ।
“वैदेशिक लगानी,वैदेशिक पर्यटक र नयाँ वैदेशिक रोजगारी प्राय ठप्प नै छ।राजश्व १० खर्ब पनि नउठ्ने अवस्था छ।” उनले भने ।
बिकास निर्माण बाहेक नै १९ खर्ब खर्च रहेको बताउदै नेता दाहालले फजूल खर्च कटौति गर्न अनावश्यक सङ्ख्या र अनावश्यक संरचनाहरू हटाउनु पर्ने वाध्यकारी अवस्थाबारे सरकारलाई जानकारी नै नरहेको जिकिर गरे ।
आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी अर्थतन्त्रमा बदल्नु पर्ने आवश्यकताको बोध गर्न सरकारले नसकेको उनको गुनासो छ ।
“तत्काल कृत्रिम बौद्दिकता र डिजिटल व्यापारमा प्रतिस्पर्धा गर्न नसके पनि कृषिमा आयातलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड दिदै
कृषिमा राष्ट्र आत्मनिर्भर बनाउन कमरेड प्रचण्ड नेतृत्व सरकारले बिनियोजन गरेको अर्बौ बजेट ओली सरकारले कार्यान्वयन मै ल्याएन।” उनले भने, “वर्तमान सरकारले पनि त्यतिबेलाको आइटी सेवा निर्यात, पर्यटन र उर्जा केन्द्रित योजना निस्क्रिय बनाएको छ।”
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक र मेडिकल हबका रूपमा बिकास गर्ने योजना रोक्ने काम भएको उनको भनाइ छ ।
“सरकार सञ्चालनका हिसाबले उल्टो दिशामा कुशासनको घोडा चढेर हिडेको ओली सरकारको निरन्तरताबाट थप समस्या बाहेक अरू केही हात लाग्दैन।” उनले भने ।
नयाँ तर सकारात्मक वहसको उठान, समस्या प्रतिको बुझाइमा एकरूपता,समाधानका उपाय प्रतिको बुझाइमा एकरूपतासहित कार्यान्वयनमा जान सरकारलाई दबाब दिनुपर्नेमा उनले जोड दिएका छन् ।






