सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जना पक्राउ

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो।

पक्राउ पर्नेहरूमा धरान उप-महानगरपालिका-१३, सुनसरी घर भई कार चालकको रूपमा रहेका ३४ वर्षीय थमन राई तथा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-५ घर भई कारमा सवार २२ वर्षीया जीवनी राई रहेका छन्।

त्यस्तै, मोरङको कटहरी गाउँपालिका-३ का २६ वर्षीय मोटरसाइकल चालक अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी (मोटरसाइकलमा पछाडि सवार) लाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।