वरिष्ठ पत्रकार थापालाई सम्मान

बुटबल । उर्जा क्षेत्रका वरिष्ठ पत्रकार विकास थापा सम्मानित भएका छन्। भिजन लुम्बिनी ऊर्जा कम्पनीले सातौँ वार्षिक साधारण सभाका अवसरमा आयोजना गरेको कार्यक्रममा थापालाई सम्मान गरेको हो।

पत्रकारितामार्फत जलस्रोत र ऊर्जा क्षेत्रमा तीन दशकदेखि पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप थापालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।  भक्तपुर निवासी थापा हाल जलसरोकार डट कमका प्रधान सम्पादक हुन् ।

थापालाई कम्पनी अध्यक्ष सुदिप सिंह अधिकारीले प्रशंसा पत्र प्रदान गरेका छन् भने प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले दोसल्ला ओढाए ।

कार्यक्रममा जलविद्युत् राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारी पनि सम्मानित भए। निजी क्षेत्रबाट पहिलो जलविद्युत् निर्माण गरी नेपालमा निजी लगानीको मार्ग खोल्न गरेको योगदानका लागि उनलाई सम्मान गरिएको हो।

सम्मानले कामप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको  सम्मानित हुने पत्रकार थापा र अभियन्ता भण्डारीले प्रतिक्रिया दिएका छन् ।