उज्यालो नेपाल पार्टीको ललितपुरमा तदर्थ समिति गठन

ललितपुर । उज्यालो नेपाल पार्टीले सुर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ।

उज्यालो नेपाल पार्टीले मंगलबार ज्वागलमा आयोजित ललितपुर जिल्ला भेलाबाट रेडियो नेपालका पूर्व निर्देशक तण्डुकारको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो।

त्यस्तै पार्टीको युवा संयोजकको जिम्मेवारी सुनिल महर्जन र सहसंयोजक युजेश महर्जनलाई दिइएको केन्द्रीय सदस्य राजाराम तण्डुकारले जानकारी दिए। तदर्थ समितिमा रहने सदस्यहरूको नाम भने पछि सार्वजनिक गरिने उनले जानकारी दिए।

तदर्थ समिति गठनका लागि आयोजित भेलामा मन्तव्य राख्दै पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मट्टीतेल, चामल, तेल, चिनी लगायतका सामान लिन लाइन बस्नुपर्ने समस्याबाट आजित भएर भएको २०४६ सालको आन्दोलनको स्मरण गर्दै आन्दोलनबाट स्थापित भएका नेताहरूले काम गर्न नसकेकोले अब नयाँ पुस्तालाई देशको नेतृत्वमा स्थापित गर्नुपर्ने बताए।

उनले देशको विकास आशातीत रूपमा हुन नसकेको भन्दै विदेशिने क्रम तीव्र रूपमा बढ्दा देश बर्बाद हुने अवस्थामा पुगेकोले अब उज्यालो नेपाल पार्टीको नेतृत्वमा देशलाई समृद्धिको दिशामा लैजानुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य श्री गुरुङले पर्यटन, प्रविधि, ऊर्जा र कृषिको माध्यमबाट देशलाई समृद्ध बनाउने पार्टीको उद्देश्य रहेको बताए। उनले देशको पासपोर्टको गरिमा उच्च बनाउँदै रोजगारीका लागि विदेश पुगेका युवाहरूलाई फर्काउने गरी पार्टीले काम गर्ने जानकारी गराए।

केन्द्रीय सदस्य राजाराम तण्डुकारले देशमा देखिएका जनताका हरेक समस्या समाधानमा जोड दिँदै समावेशी र समानुपातिक विकासमा ध्यान दिने बताए।

जेन जेड आन्दोलनका अभियन्ता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किशोरी कार्कीले सबैलाई व्यवस्थापन गर्न र समेट्न सक्ने क्षमता कुलमान घिसिङसँग रहेकोले उनको नेतृत्वमा देशले निकास पाउन सक्ने बताए। उनले आन्दोलनपछि हुन लागेको निर्वाचनमा सही व्यक्ति, नयाँ युवा र नयाँ सोच भएका युवालाई अवसर दिनुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य डाक्टर आसुतोष पन्तले विगतमा जनतालाई बाँडिएका सपना अनुसार काम नभएको भन्दै अबको निर्वाचनबाट काम गर्न सक्ने नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताए।

उनले राजनीतिक नारा मात्र बेच्ने पुराना राजनीतिकर्मीभन्दा युवा जोश र जाँगरलाई उपयोग गर्दै देशलाई दीर्घकालीन हितमा अघि बढाउन ध्यान दिनुपर्ने बताए।

जेन जेड आन्दोलनका घाइते परिवारका सदस्य तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या पाण्डेले दिगो सरकार निर्माणका लागि उज्यालो नेपाल पार्टी आवश्यक रहेको बताए। उनले ललितपुरका स्थानीय स्रोत–साधनको उपयोग गरी विदेशमा समेत निर्यात गर्न सकिने बताए।

केन्द्रीय सदस्य तुलसा वाइवाले गाउँगाउँ र बस्तीबस्तीसम्म संगठन विस्तार गरी काम गरेर देखाउन सक्ने नेतृत्वलाई स्थापित गर्दै भ्रष्टाचार अन्त्य, सुशासन र समृद्धि हासिल गर्न पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए।

बागमती प्रदेश संयोजक प्रविणकुमार तामाङले देशको समृद्धिका लागि आवाज उठाउन नयाँ सोचसहित नयाँ शक्तिका रूपमा उज्यालो नेपाल पार्टी स्थापना भएको बताए। उनले १८ घण्टासम्म अन्धकारमा रहेको नेपाललाई उज्यालो बनाएका कुलमान घिसिङको नेतृत्वमा देशको विकास सम्भव हुने धारणा राखे।

यल नेवा समाजका कोषाध्यक्ष तथा तण्डुकार समाज यलका अध्यक्ष शिवराम तण्डुकारले सुशासन, न्याय र समृद्धिको सपनालाई साकार पार्दै जेन जेड आन्दोलनको भावनालाई आत्मसात गरी काम गर्ने विश्वास व्यक्त गरे।

पर्यटन व्यवसायी समुद्रमान बज्राचार्य, शाक्य सुरेम र स्मार्ट टेलिकमका पन्नाकाजी महर्जनले कुलमान घिसिङको योगदानका आधारमा जन्मिएको पार्टीले देशलाई उज्यालो बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।