महेश बस्नेतलाई स्वतन्त्र उम्मेदवारको समर्थन

भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवीनकुमार महतले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन जनाएका छन् ।

उम्मेदवार महतले आफ्नो उम्मेदवारी फिर्ता लिदैं एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थनको घोषणा गरेका हुन् । सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवामा एमालेको प्रचारप्रसारमा समेत उनी देखिए ।

नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत रहिसकेका महतलाई एमाले केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले पार्टीमा स्वागत गर्दै टीका, माला र खादा लगाएर स्वागत गरेका थिए ।
स्वतन्त्र उम्मेदवार नवीनकुमार महत र एमाले जिल्ला उपाध्यक्ष किरण थापाबीच भएको छलफलपछि सहमति बनेको र उनी पार्टी प्रवेश गरेका बताइएको छ ।

पूर्वसैनिक पृष्ठभूमिका महतको उम्मेद्वारी फिर्ता र बस्नेतलाई समर्थनबाट बिशेषगरी
सैनिक तथा पूर्वसैनिक परिवारहरूको समर्थन र स्वतन्त्र मतदाताको मत तान्न सफल हुने एमाले भक्तपुरले अपेक्षा लिएको छ । यसअघि भक्तपुर-२ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहाल अर्थात (एलके दाहाल) पनि एमाले प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको लिएको र एमाले उम्मेदवार महेश बस्नेतलाई मतदान गर्न अपिल गरेका थिए ।

उम्मेदवारहरुकै एमालेमा आकर्षणबाट जनमत एमालेमा केन्द्रीत हुने जिल्ला अध्यक्ष बचन देउजाले बिश्वास व्यक्त गरेका छन् ।