
भक्तपुर । पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् । शनिवार भक्तपुर–२ मा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अहिले आत्मनिर्णयको अधिकार खोसिएको छ र पार्टीहरुको हातमा पहलकदमी छैन, नेकपा त्यसलाई पुनस्र्थापित गर्न नेतृत्वदायी भूमिका निभाइरहेको छ ।”
देशमा भदौं २३ र २४ भन्दा भयावह आधीबेहरी आउनसक्ने तर्फ सचेत गराउँदै उनले देशभक्तहरु बलिदानीको निम्ति तम्तयार रहनुपर्ने आवश्यकता औल्याए । नेकपाका नेता सापकोटाले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संक्रमणलाई समाप्त गरी देशलाई निकास दिन निर्वाचनतर्फ डोर्याएको स्मरण गर्दै निर्वाचन हुँदैन भन्नेहरु अहिले मत माग्न हिड्नु सकारात्मक रहेको उल्लेख गरे । “तर, निर्वाचन तत्कालीन समाधान भएपनि दीर्घकालीन होइन, समाजवाद बिना देशको भलो हुँदैन ।” उनले भने ।
समाजबाद भन्नु नै सम्वृद्धि भएको भन्दै उनले नेकपाले कृषी, उद्योगधन्धा र राष्ट्रिय सुरक्षामा आधुनिकीकरण गरी समाजवादमा पुग्ने दावी गरे । देशलाई भ्रष्टाचारको जालोमा जेलेर असफल राष्ट्र बनाउने र बिदेशी चलखेल बढाउने दलाल प्रबृत्तिको अन्त्य गर्न आफ्ना संयोजक प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार बिरुद्ध चलाएको अभियान असफल बनाइएको उनले जिकिर गरे । नेकपाले देशभक्ति सुशासन र सदाचारमा कहिल्यै सम्झौता नगर्ने प्रतिवद्धता प्रकट गर्दै उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न सकेको छैन, हामी शक्तिशाली स्वतन्त्र लोकपाल बनाएर भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने योजनामा छौं ।”
पछिल्लो समय आफू भक्तपुर–२ बासी समेत भएको जानकारी गराउँदै पूर्व सभामुख एवं नेकपाका नेता सापकोटाले आफ्नो पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखा यस क्षेत्रका सबै उम्मेदवार भन्दा अब्बल र क्षमतावान भएको दावी गरे । “भक्तपुर–२ मा अरुलाई धेरैपटक हेर्नुभयो, यसपटक नेकपालाई निर्वाचित गर्नुहोस् ।” उनले भने, “व्यवस्था परिवर्तनको लागि लडेको दीपशिखा यहाँको सानो भन्दा सानो समस्या समाधानका लागि सक्षम रहने म ग्यारेन्टी गर्छु ।”
सभालाई सम्बोधन गर्दै नेकपाका अर्का नेता लिलामणी पोखरेलले संविधान र देशको रक्षा,भ्रष्टाचारको अन्त्य, सुशासन, सम्वृद्धि र सामाजिक न्यायको निम्ति नेकपालाई मतदान गर्नपर्नेमा जोड दिए । निर्दोष बालबालिकालाई गोली हान्ने र त्यो आक्रोशको फाइदा उठाउदै देश खरानी बनाउन खोज्ने दुवै प्रबृत्ति घातक भएका भन्दै उनले दुई अतिवाद बिरुद्ध नेकपाको तारामा मतदान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, पूर्वमन्त्री समेत रहेकी नेतृ शशी श्रेष्ठले आफू मन्त्री हुँदा मध्यपुर थिमि लगायत देशैभर स्ववासीलई जग्गाधनी लालपूर्जा उपलब्ध गराएको स्मरण गर्दै नेकपा नै भूमिहीन, स्ववासी, गरीव र निमुखा जनताको आशा र भरोषा बनेको बताईन ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपाको तर्फबाट भक्तपुर–२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले अरुहरु जस्तो गर्न नसक्ने आश्वासन आफूले नदिएको र बोलेको कुरा पूरा गर्ने प्रतिवद्धता प्रकट गरे । “हामी पानीजहाजको सपना बाड्नु अघि स्वच्छ खानेपानीको धारा घरघरमा पुर्याउछौं ।” उनले भने, “बुलेट ट्रेनको आश्वासन दिनु अघि स्कुलकलेज, कार्यालय र अस्पताल भनेकै समयमा आवतजावत गर्न सक्षम सार्वजनिक यातायातको सुनिश्चितता गर्छौं।”
उनले स्मार्ट सिटी भन्नु अघि व्यवस्थित, सफा, सुरक्षित र सुविधायुक्त शहर बनाउने बताए। आफूले बाटो बनाउने कामलाई मात्र बिकास नमान्ने भन्दै उनले स्वास्थ्य, शिक्षा, कृषी, उद्योग, रोजगारी, चेतना र सामाजिक न्यायको क्षेत्रलाई प्राथमिकता दिने दावी गरे ।
सभालाई सम्बोधन गर्दै समानुपातिक उम्मेदवार दिलिपकुमार प्रजापति भिष्मले भक्तपुर–२ सचेत र क्रान्तिकारी चेतयुक्त भएको भन्दै विचार, सिद्धान्त र प्रतिवद्धताको आधारमा अग्रगामी र सही नेतृत्व दिनसक्ने नेकपालाई मतदान गर्न अपिल गरेका थिए । सो अवसरमा बागमती प्रदेश सभाका पूर्वमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, नेता श्याम बस्नेत, जीवन तज, सनिस लागेजु, जगतमाया प्रजापति लगायतले सम्बोधन गर्दै भक्तपुर–२ मा नेकपाले गरेको कामबारे जानकारी गराएका थिए ।
“सुशासन, रोजगारी समाजवादको तयारी– राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित मध्यपुर थिमि–४ बालकुमारीमा नेकपाको चुनावी सभा सम्पन्न भएको थियो । भक्तपुर–२ मा १७ दल र स्वतन्त्र गरी ३२ उम्मेदवार रहेका छन् ।







