भक्तपुर । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक, भक्तपुरलाई विविध कार्यालय सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाले प्रभागलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेको हो।

सामग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले ट्राफिक प्रहरीको मेहनत, समर्पण र निरन्तर सेवा भावना प्रशंसनीय रहेको उल्लेख गरे। उनले नगरपालिकाले सडक सुरक्षासँग सम्बन्धित पूर्वाधार र आवश्यक उपकरण उपलब्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि प्रकट गरे।

ट्राफिक प्रहरी प्रभाग कमलविनायकका प्रमुखले नगरपालिकाको यो सहयोगले प्रहरी कार्यालयको कामकाज सहज र व्यवस्थित बनाउने बताउँदै कृतज्ञता व्यक्त गरेका थिए ।

स्थानीय सरकारको सहयोगले अझ व्यवस्थित र प्रभावकारी कार्यसम्पादनमा मद्दत मिलेको ट्राफिकहरुले प्रतिक्रिया दिएका छन् ।

सो अवसरमा भक्तपुर नगर क्षेत्रभित्र ट्राफिक सेवा थप चुस्त, सहज र नागरिकमैत्री बनाउने विषयमा छलफल समेत गरिएको छ।