आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्।

नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बीपी स्मृति वाचनालयको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएको उल्लेख गर्दै फरक विचार राख्ने व्यक्ति र पार्टीमाथि आक्रमण गर्ने, व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्ने जस्ता अराजक गतिविधिको निन्दा गरे ।

“यस्ता अलोकतान्त्रिक गतिविधिले लोकतन्त्रलाई संस्थागत गर्न तथा देशको विकास र समृद्धिमा प्रतिकुल असर पुग्छ  ।” उनले भने ।

मुख्यमन्त्री बानियाँले सडक बिस्तारबारे प्रतिक्रिया दिदै हेटौंडा उपमहानगरपालिकामा डोजर चल्दा जनतालाई आघात पुगेको टिप्पणी गरे । सरकार व्यवस्था चलाउन कठोर हुनुपर्ने तर निर्दयी हुन नहुने उनको भनाइ छ।

हेटौँडामा पछिल्लो समय देखिएका समस्या समाधान गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति एवं अहिले बागमती प्रदेश सभापति समेत रहेका प्रदेश सरकारका मुख्यमन्त्री बानियाँले मकवानपुर कांग्रेसका संस्थापक सभापति सूर्यबहादुर डिम्डुङले तत्कालीन अवस्थामा दलहरू प्रतिबन्धित रहँदा पार्टी संगठन निर्माण र  जनसेवामा पुर्याएको योगदान स्मरणीय रहेको बताए।

उनले लोकतन्त्र स्थापनामा डिम्डुङको योगदान चर्चा गर्दै कांग्रेसले कसैको विचारलाई निशेेध नगर्ने र आफ्नो विचारसहित लोकतान्त्रिक प्रतिस्पर्धा गर्ने बताए ।