हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडकमा राति सवारी चलाउन नपाइने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकमार्गमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै भनेका छन्– असोज १७ गतेदेखि २० गतेसम्म मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले दुर्घटना र क्षति रोक्न यो निर्णय गरिएको हो ।

सूचना अनुसार हेटौँडा–कान्तिलोकपथमार्गमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म, र हेटौँडा–भैँसे–काठमाडौँ सडकमार्गमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लागू हुनेछ ।

प्रजिअ श्रेष्ठले आवश्यकताबाहेक टाढाको यात्रा नगर्न, रातिको समयमा यात्रा टार्न, तथा नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

साथै, सम्भावित विपद् नियन्त्रण र प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह र सरोकारवाला संस्थाहरूसँग नियमित समन्वयमा रहन सबैलाई आह्वान गरिएको छ ।