बुद्धशरण शाही, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार हेटौँडामा पद्यमरत्न लुमन्ति गुथीको आयोजनामा र संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित “नेपालभाषाको प्रयोग, प्रचार र प्रवर्द्धन” विषयक विचार गोष्ठीमा बोल्दै उनले विद्यालय तहमा पनि ऐन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए।
भाषा ऐन बनेपछि धेरै चुनौती देखापरेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेशका सबै सरकारी कार्यालय र स्थानीय तहको लेटरप्याडमा नेपाल भाषा र तामाङ भाषा समावेश गर्न मन्त्रिपरिषदबाट निर्णय भइसकेको जानकारी गराए। ऐन कार्यान्वयनको सुरुवात प्रदेशसभाबाट भाषा अनुवादकको नियुक्तिसहित भएको र आगामी दिनमा भाषा विज्ञहरूसँग छलफल गरी थप प्रभावकारी कार्य अघि बढाइने पनि उनले बताए।
श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले संघीयताले भाषिक हक अधिकार स्थापित गरेको बताए। उनले संघीय प्रणालीका कारण नेपालभाषा र तामाङ भाषाको प्रतिनिधित्व समाजमा सम्भव भएको बताएका छन्। तर, गरिएका कामहरूको प्रभावकारी प्रचार नहुँदा संघीयता माथि प्रश्न उठेको टिप्पणी गरे।
गोष्ठीमा गुथीका अध्यक्ष डा. केशवमान शाक्यको अध्यक्षतामा भाषाको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै रुद्रहरी जोशी, अंगदप्रसाद श्रेष्ठ, महारत्न बज्राचार्य र विष्णुगोपाल महर्जनलाई सम्मान गरिएको थियो।
कार्यक्रममा रिसर्च स्कलर नरेशबीर शाक्यले “मातृभाषाको प्रवर्द्धनमा पद्यमरत्न तुलाधारको देन”, गोरखापत्र तामाङ भाषा पृष्ठ संयोजक अजीतमान तामाङले “मातृभाषाको महत्व र ऐतिहासिक पक्ष”, र संघीय भाषा आयोग सदस्य सुरेशकिरण मानन्धरले “प्रदेश सरकारी कामकाजको भाषा ऐन : अवसर र चुनौती” शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन गुथीका कार्यसमिति सदस्य किरण शाक्यले गरेका थिए। कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, गुथीका कोषाध्यक्ष सुरेश प्रधानलगायतको उपस्थिति रहेको थियो।
गोष्ठीले पद्यमरत्न तुलाधारको योगदानको कदर गर्नुका साथै गुथीका आगामी योजनाहरू निर्माणका लागि मार्गदर्शन गरेको संयोजक सुरेश प्रधानले जानकारी दिए।