जनस्वास्थ्यतर्फ ललितपुर, अस्पतालतर्फ भक्तपुर र आयुर्वेदमा सिन्धुली सर्वोत्कृष्ट

मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ ।

प्रदेशको राजधानी हेटौँडामा कार्तिक ३० गतेदेखि मंङ्सिर २ गतेसम्म भएको प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापनका अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरलाई उत्कृष्ट जिल्ला घोषित गरिएको हो ।

जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्याङ्कनमा कुल १०० अङ्कमध्ये ७१.५९ अङ्क प्राप्त गर्दै ललितपुर जिल्ला उत्कृष्ट घोषित भएको हो ।

गतवर्ष पनि जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट कार्यालयको रूपमा सम्मानित भएको थियो । दुवै कार्यकालमा डा. भुवन पौडेलले नेतृत्व गरेका छन् ।

दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय धादिङ रहेको छ । धादिङले ७०.८६ अङ्क प्राप्त गरेको छ भने ७०.६४ अङ्कसहित जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक तेस्रो स्थानमा रहेको जनस्वास्थ्य कार्यालय ललितपुरकी तथ्याङ्क अधिकृत दिपा पाण्डेले जानकारी दिइन् ।

 

अस्पताल तर्फ भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ । प्रदेशमातहत रहेका प्रादेशिक अस्पतालहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको हो ।

अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्यांकनमा कुल १०० अंकमध्ये ७१.१० अंक प्राप्त गर्दै भक्तपुर उत्कृष्ट अस्पताल घोषित भएको हो ।

भक्तपुर अस्पताल यस् अघि पनि लगातार सर्वोत्कृष्ट भएर रेकर्ड राख्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतम भक्तपुरको मेसु रहँदा पहिलोपटक यो पहिलो भएको थियो । हाल डा सुरेन्द्र भट्टले भक्तपुर अस्पतालको नेतृत्व गरिरहेका छन् ।

यसैगरी, त्रिशुली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ । त्रिशुली अस्पतालले १०० अंकमध्ये ७०.७२ प्राप्त गरेको थियो । यस्तै, चौतारा अस्पताल तेस्रो भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ ७२.६० अङ्कसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली पहिलो स्थानमा रहन सफल भएको छ भने ७०.१० अंकसहित आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोट दोस्रो र चितवन तेस्रो स्थानमा रहेको छ ।

उत्कृष्ट भएका जनस्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतले सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताएका थिए ।

त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले राम्रो गरेकाबाट सिक्न र समीक्षामा पत्ता लागेका कमजोरी सुधार्न निर्देशन दिए । जागिरे मानसिकताले नभई सेवाभावले भरिएको सेवा प्रवाह गर्न उनले आग्रह गरे ।

स्वास्थ्य सचिव डा गौतमले प्रदेश सभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भइसकेकोले त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू हल हुँदै जाने बिश्वास व्यक्त गरिन ।