
हेटौंडा । भारतको उडिसा नजिक विकसित भएको मौसम प्रणाली बिहार हुँदै नेपाल प्रवेश गरेको छ । यसले मधेश हुँदै बागमती प्रदेशमा पनि अविरल वर्षा गराइरहेको छ ।
काठमाडौ उपत्यका लगायत बागमती प्रदेश र पश्चिमका विभिन्न स्थानमा सोमबारसम्म लगातार वर्षा गराउने सम्भावना जल तथा मौसम बिज्ञान बिभागका प्राविधिक विज्ञहरूले बताएका छन् ।
यसै क्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले विपद् पूर्वतयारीमा जुट्न सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्यकर्मीलाई विशेष आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा अबिरल वर्षासँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् आउने उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सेवामा कुनै कमी नहोस् भनेर सतर्क रहन निर्देशन दिएको हो ।
प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्यात्मक कदम चाँडै चाल्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो परिस्थितिमा प्रभावित क्षेत्रमा चिकित्सकसहितको एम्बुलेन्स सेवा प्रवाह गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न, आवश्यकताअनुसार उपचारमा खटिन र तत्काल सूचना आदान–प्रदान गर्न आग्रह गरेकी छन् ।

सचिव डा गौतमले प्रदेशभित्रका सबै अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउन, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा अवरोध नहोस् भनेर तयारी अवस्थामा रहन र जनताको सहज पहुँचमा प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन जारी गरेकी छन् ।
बाढी, पहिरो र जोखिम क्षेत्रबारे सचेत रहन र स्वास्थ्य सामग्रीको पर्याप्तता र आपूर्ति सुनिश्चित गर्न निर्देशन दिइएको छ ।
आपत्कालीन अवस्थाको पूर्वानुमान गरेर स्वास्थ्य सेवामा कुनै कमजोरी नगर्न निर्देशन दिइएको सचिव डा गौतमले जानकारी गराइन ।
मन्त्रालयले बागमती प्रदेशका सम्पूर्ण नागरिकलाई सावधानी अपनाउन र सुरक्षित रहन समेत अनुरोध गरेको छ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्धी जरुरी सूचना समेत सार्वजनिक गरेको छ ।
हेर्नुस् सूचना








